झापा । 

मलेशियामा विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा आन्तरिक असमझदारी बढेको छ । मलेशियन उत्पादकहरुको महासंघ (एफएमएम) ले आप्रवासी कामदारहरुका लागि आवश्यक पर्ने चिकित्सा परीक्षणको शुल्क वृद्धि र अन्य परिवर्तन चिन्ताजनक भएको जनाइएको छ ।

मलेशियामा स्वास्थ्य मन्त्रालयको एजेन्सीका हैसियतले फोमेमाले विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने गरेको छ । फोमेमाले विदेशी कामदारको स्वास्थ्य परीक्षण शुल्क १४ देखि १५ प्रतिशतले वृद्धि गरेको छ । एफएमएमले स्वास्थ्य परीक्षण शुल्क वृद्धिले रोजगारदाताहरुलाई वार्षिक १२४ दशमलव २ मिलियन मलेशियन रिँगेट खर्च थप गरेको दाबी गरेको छ ।

 मलेशियामा वार्षिक ६ लाख विदेशी कामदारको स्वास्थ्य परीक्षण हुने गरेको छ । स्वास्थ्य परीक्षण शुल्क बढेर पुरुषका लागि २ सय ७ रिँगेट र महिलाका लागि २ सय १७ रिँगेट पुगेको छ ।  फोमेमाले अबदेखि एचआईभी, हेपाटाइटिस बी, सिफिलिस, गर्भावस्था, ओपिएट्सको अतिरिक्त फाइलेरियासिस, हेपाटाइटिस सी र मेथाम्फेटामिन रोग परीक्षण गरिने जनाएको छ । रोजगारदाताहरुले स्वास्थ्य परीक्षणको संख्या वृद्धिमा पनि असहमति जनाएका छन् ।