झापा । 

भारतले शुक्रबार (आज) ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमिन्त्रत गरेको छ । 

विहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्यलाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । 

सन् १९५० मा आजैको दिन भारत गणतन्त्र घोषित भएको थियो ।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर, १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । 

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । 

त्यस यता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । संविधानले भारतीय नागरिकलाई आफ्नोे देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।