अर्जुनधारा । 

कोरिया भ्रमणमा रहेको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको टोलीले नेपाली तथा मौसमी कामदारको अवस्था र फोहोरबाट बिद्युत उत्पादनका बिषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । 

भ्रमण रहेको नगर प्रमुख बलदेवको टोलीले पाँचौं दिन आज (शुक्रवार) नेपाली तथा मौसमी कामदारको अवस्था,  आवश्यकता र विगतको सिकाईका बारेमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया गरेको नगर प्रमुखका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए । नगर प्रमुख बलदेवसहित कोरिया भ्रमण टोलीमा संघीय सभामुख देवराज घिमिरेका सोकिय सचिव केशव ढुङ्गेल पनि रहेका छन् ।  

टोलीले चिलगोक काउन्सिलका काउन्सिलम्यान लिचाङ, काउन्सिलका एग्रीकल्चर पोलिसी सेक्सनका प्रमुख लिसु युन, डेगु मेट्रोपोलिशन सिटीका काउन्सिल का प्लानिङ एण्ड पब्लिक एडमिनिष्टेशन कमिटीका अध्यक्ष लिमइन ह्वानसँग कामदारको अवस्था, मौसमी कामदारको आवश्यकता र विगतको सिकाईका बारेमा छलफल छलफल गरेको बताइएको छ । 

त्यसैगरी टोलीले एसजेटि कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिस्याङ रकसँग पनि घरबाट निस्कने फोहोरवाट विधुत उत्पादनका बिषयमा छलफल गरेको जनाइएको छ । 

दैनिक घरवाट निस्कने फोहोर ५० टनवाट ८ मेघावाट,  दैनिक उधोगवाट निस्कने २५० टन फोहोर वाट ८ मेघावाट बिद्युत कसरी निकाल्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको खतिवडाले जानकारी दिए । फोहोरबाट बिद्युत निकाल्ने बारेमा बृहत्तर योजना तर्जुमा सहितको छलफल भएको बताइएको छ ।  छलफलमा फोहोरबाट बिद्युत उत्पादनका लागि प्राविधिक टोली चाँडै नेपाल भ्रमण गर्ने सहमति समेत भएको जनाइएको छ । 

१० दिनको भ्रमणमा गएको नगर प्रमुख बलदेवको टोलीले बिहीवार त्यहाँको कृषि र पशुपालनको अनुगमन गरेको थियो ।