झापा ।

 झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ की एक महिलाले घरायसी समस्याका कारण छोरीका साथमा आत्मदाहको प्रयास गरेकी  छिन् । श्रीमान् परस्त्रीसँग लागेका निहुमा बुद्धशान्ति–२ स्थित गोपालडाँडा घलेगाउँ ती महिलाले ५ वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी हुन् । 

गएराति ८.३० बजेको समयमा २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया बर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । स्थानीयले देखेर आगो निभाएका थिए । राति ९.२० बजे ईलाका प्रहरी कार्यालय वुधबारेमा जानकारी गराउना साथ बुधबारेको प्रहरी टोलीले दुवै जना घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएर उपचार चइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले बोल्नै नसक्ने अवस्थामा गम्भीररहेकी छिन् । छोरी बर्षा बिकको शरीरको बिभिन्न भागमा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटना स्थलनजिकै सुसाईड नोट फेला परेको र उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको प्रहरीले जनाएको छ ।

श्रीमान् राजन विक हिजो विहानैदेखि ज्यामी काममा गएर घर फर्किने क्रममा उनलाई वुधवारे बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  अहिले घरमा राजनकी ८१ वर्षीया आमा सुन्तलीमाया खाती मात्र रहेकी छन् ।