बिर्तामोड । 

झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित सैनिकमोडमा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म तेस्रो सडक फुड फेस्टिवल महोत्सव हुने भएको छ । 

होटल ब्यवसायी संघ झापाको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य र बिर्तामोड नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । 

झापाका लोप हुँदै गएको स्थानीय खानाहरुको परिकारको प्रचारप्रसार तथा बिक्री वितरण गर्न, स्थानीय जातजातीका भेषभूषा तथा संस्कृतिको प्रवर्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । उनले आर्थिक मन्दीका कारणले थला परेको ब्यवसायलाई चलायमान बनाउन तथा स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम रुपमा खपत गर्न महोत्सव आयोजना गरिएको जानकारी दिइन् । 

महोत्सवमा दैनिक स्थानीय जातजातीका खानाका परिकार, संस्कृति झल्काउने झाँकीहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्ततुतीसमेत रहने संघका महासचिव शिवराज पौडेलले बताएका छन् ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, बन तथा बातावरणमन्त्री गणेशप्रसाद उप्रतीले गर्ने जनाइएको छ । ३३ वटा स्टलहरु रहने उक्त महोत्सवमा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाले अनुमान गरेको छ । महोत्सवमा सयपत्री इन्टरटेन्टमेन्टको प्राबिधिक सहयोग रहने आयोजकले जनाएको छ ।