झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित स्टाफ चौकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भद्रपुर–५ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने २५ बर्षिय सुरज बिश्वकर्मा छन् ।  इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएकोे टोलीले बुधवार साँझ ६ बजेको समयमा शंकास्पद तवरले हिडडुल गरी रहेको अवस्थामा उनलाई फेला पारी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनको दाहिने हातमा खुकुरी चुरोटको खोल फेला परेको सो खोलमा स–साना प्लाष्टिकको पोका थान–११ मा प्लाष्टिक बाहेक २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगर फेला परेपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।