भद्रपुर ।

 सहकारी संघ–संस्थामा देखिएका समस्या तथा समाधानका उपायहरु विषयक सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । झापाको भद्रपुरमा कोशी प्रदेश सहकारी रजिष्ट्रार प्रशिक्षण कार्यालय इनरुवा र झापा जिल्ला सहकारी संघको संयुक्त आयोजना साथै जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बिहीबार (आज) अन्तरक्रिया गरिएको हो । सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीको अध्यक्षतामा भएको अन्तरिक्रया कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्य रहेको थियो ।  

अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय केही समूह र व्यक्तिहरुका कारण सहकारी अभियान धरासायी बन्दै गएको उपस्थित सहकारीकर्मीहरुले बताएका छन् । उनीहरुले सहकारी संस्था तथा कर्मचारीमाथि दैनिकजसो हुने अराजक गतिविधि बन्द गर्न सरकार समक्ष माग अघि सारेका छन् । वित्तीय संस्थामा आक्रमण गर्ने जोकोहीलाई तत्काल दण्डित गरी कानूनी दायरामा ल्याउनुपर्ने, सहकारी संस्था र कर्मचारीको सुरक्षा राज्यले गर्नुपर्ने, सहकारी संस्था, कर्मचारीको काम गर्ने वातावरण बनाउनुपर्ने, सहकारीप्रति राज्यको तीन खम्बे अर्थनीति अनुसारका कार्यक्रम लागू गर्नुपर्ने, कर्जा नतिर्ने ऋणी सदस्यलाई राज्यले दिनुपर्ने सेवासुविधाबाट राज्यले बञ्चित गर्नुपर्ने, सदस्यको बचत दुरुपयोग गर्ने सहकारी संस्था तथा सञ्चालकहरुलाई तत्काल कारबाही गरिनुपर्ने लगायतका माग सहकारीकर्मीहरुले राखेका छन् ।

सोही कार्यक्रमका बीच प्रदेश रजिष्टार खत्रीले प्रदेशमा सहकारीको अवस्थाका प्रस्तुती दिएका थिए । झापामा ७५६ वटा सहकारीहरु सञ्चालित रहेको र जसमध्ये २६ वटा सहकारी संस्थामा समस्या देखिएको उनले बताए । सुदखोरका कारण समेत सहकारीहरुमा समस्या देखिएको उनको भनाइ थियो ।

sahakari 1

कार्यक्रममा समन्वयकर्ता जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला कार्यक्रमको विषयवस्तु अन्यत्रै मोडिएको साथै व्यस्तता देखाउँदै कार्यक्रम हलबाट बाहिरिएका थिए । प्रजिअ बाँस्तोला बाहिरिएसँगै सहकारीकर्मीहरुले उनको गतिबिधप्रति विरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि) ले सहकारी अभियानमा देखिएका विकृति समाधानका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरीले राज्यको तीन खम्बे नीति अनुसार सहकारी पनि एउटा खम्ब रहेकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले सहकारी अभियानमा देखिएको विकृति र समस्यालाई निराकरण गर्न लागिपर्ने समेत उल्लेख गरे । कार्यक्रममा स्थानीय  तहका प्रमुख÷अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सहकारी अभियन्ता÷ सहकारीकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।