बिर्तामोड। 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सहिदले अपेक्षा गरेको उद्देश्यबाट बिचल्लीत नहुन सबैलाई आग्रह गरेका छन् ।  प्रमुख अतिथि समेत मन्त्री कार्कीले संघीय लोकतान्त्रिक ब्यवस्था आएपनि ब्यवस्था अनुसार  जनताले सुशासन र खुसी नपाएको भन्दै बिचल्ली नहुन आग्रह गरेका हुन् ।

सहिदहरुले गरेको बलिदानी र सपना पूरा नभएको, देशमा शिक्षा, स्वास्थ्य, युवा रोजगारका क्षेत्रमा नीतिगत बिषय कार्यान्वयन हुने क्रममा रहेको मन्त्री कार्कीको भनाई थियो ।

कार्यक्रममा पुर्वकृषि मन्त्री झलकसिंह दर्लामी, सहिद परिवारका रत्न घिमिरे, लालसुन्दर राई, एकीकृत समाजबादीका वेदराज रेग्मी, माओवादी बिप्लप पार्टीका सुमन सि लगायतले सम्बोधन गरेका थिए । निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिरेन्द्र बस्नेतले गरेका थिए । कार्यक्रममा सहिद तथा वेपत्ता परिवारको समस्या र गुनासोका बिषयमा मन्त्री कार्कीलाई ज्ञापन पत्रसमेत बुझाइएको थियो । 


  • ‘सहिद स्मृति कार्यक्रम’ मा सुखानी सन्देशको विशेषांक सार्वजनिक

झापाबाट प्रकाशित हुँदै आएको सुखानी सन्देश साप्ताहिकको विशेषांक सार्वजनिक गरिएको छ । बिर्तामोडमा सोमवार (आज) कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सुखानी सन्देशको विशेषांक सार्वजनिक गरेका हुन् ।  बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा शहिद प्रतिष्ठान नेपाल झापाद्धारा आयोजित ‘सहिद स्मृति कार्यक्रम’का बीच विशेषांक सार्वजनिक थियो । 

सुखानी दिवस अर्थात् फागुन २१ लाई लक्षित गरी तयार पारिएको सुखानी सन्देशमा झापा विद्रोहका विषयमा लेखिएको छ । तत्कालीन झापा विद्रोहको अवस्थालाई समेटेर विशेषांक तयार पारिएको सम्पादक राजु पाठकले जानकारी दिए । 

मुहार पृष्ठमा ‘झापा विद्रोह, सपना अधुरै’ लेखिएको विशेषांकमा कम्युनिष्ट नेताहरु सीपी मैनाली, आरके मैनाली, केपी ओली, नरेश खरेल लगायतले तत्कालीन झापा विद्रोहको अवस्थालाई शब्दमा उल्लेख गरेका छन् । त्यस्तै, विशेषांकमा झापा विद्रोहमा होमिएका योद्धाहरुको कथा–व्यथालाई समेटिएको छ ।  कभरहित १५२ पृष्ठको रंगीन विशेषांकको मूल्य रू ३०० रहेको छ ।