झापा । 

भिजिट भिसाको सेटिङमा पठाएर मानव तस्करीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भिजिट भिसाको सेटिङमा पठाएर मानव तस्करीमा संलग्न रहेको भन्दै धादिङ त्रिपुरासुन्दरी घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापालाई पक्राउ गरेको हो ।

प्रहरीले थापालाई सेटिङ मिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको अवस्थामा पक्राउ गरेको हो भने श्रेष्ठलाई थापाको बयानका आधारमा पक्राउ गरेको हो । श्रेष्ठ र थापाले ३ जना महिलालाई भिजिट भिसामा दुबई पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ लिएको समेत खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी खिमा डाँगीसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका ठगी गरेको उजुरीका आधारमा प्रहरीले उदयपुरको त्रियुगा घर भइ हाल काठमाडौंको टोखा बस्ने लोकबहादुर राउतलाई पनि पक्राउ गरेको छ ।

 उनले अमेरिका पठाउन प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिमहिना ७ लाख ५० हजार रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि विश्वास दिलाइ पटक–पटक गरी उक्त रकम हात पारेको प्रहरीजनाएको छ । राउतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको तथा थापा र श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान शाखा पठाइएको प्रहरीले जनाएको छ ।