झापा । 

बिगत केही बर्षदेखि बिभिन्न ब्यक्तिलाई नक्कली सुन देखाएर र बैदेशिक रोजगारमा पठाउने बहानामा ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले सप्तरी कन्चनरुप वडा नम्बर ८ घर भएका टोकनाथ साहलाई बुधबार बौद्धस्थित हायात क्यासिनोबाट पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनले नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड र विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै थप एक करोड गरी ५ करोड ठगी गरेर साह फरार रहेका जनाएको छ । साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिएर उक्त कर्जा नतिरी फरार भएपछि उच्च अदालत विराटनगरले उनलाई  ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।  

 त्योसँगै साह विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाउने भनि एक करोड रुपैयाँ ठगी गरेर फरार भएका थिए । साहले युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्न रवाफपूर्ण व्यवहार देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने र डिमाण्डको कोटा थोरै भएकाले पहिला जो आउँछ उही जान्छ भनि दबाब प्रभावमा पारी ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको को छ ।

 साहले त्यतिमात्र नभएर आफूलाई दिपक सोनी भनेर पनि चिनाइ विभिन्न व्यक्तिलाई प्रयोग गर्ने गरेको र उनले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।