झापा ।

 कुनै पनि बहानामा श्रमिकलाई कसैले ठगी गरे तत्काल कारबाही गरिने भएको छ । कोरिया रिटर्नीले ईपीएस कोरिया शाखाले गरेको बदमासी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष राखेका छन् ।  उनीहरुको समस्या सुन्दै मन्त्री अर्यालले कुनैपनि बहाना बनाएर श्रमिकलाई कसैले ठगी गरे तत्काल कारबाही गरिने बताएका हुन् । 

मन्त्रालयमा शुक्रबार भएको छलफलमा कोरिया रिटर्नीहरूले ईपीएस कोरिया शाखाले भ्रष्टाचार गरेको शिकायत गरेपछि मन्त्री अर्यालले प्रमाण ल्याए २४ घण्टाभित्रै कारबाही गरिने आश्वासन  दिएका छन् । मन्त्री अर्यालले कोरिया रिटर्नीको समस्या सम्बोधन फास्ट ट्रयाकमा गरिने बताए । आवश्यक परे कोरिया रिटर्नीको समस्या सम्बन्धित सरोकारवाला सबैलाई राखेर छलफल गर्न तयार रहेको मन्त्री अर्यालले बताएका छन् । 

 कोरिया रिटर्नीले कोरिया जाने श्रमिक ईपीएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए । उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाइल कोरियाको रोजगारदातासम्म पुर्‍याउनुपर्ने, गत असार १० गते ईपीएस नेपालले रिटर्नीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपीएस नेपाल र रिटर्नीबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, ईपीएस नेपालको ज्यादती र लुटतन्त्रलाई सुधार गराउनुपर्ने माग राखेका थिए ।