झापा । 

गएराती झापा गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ स्थित हुलाकी सडक खण्डमा मोटर साइकल र साइकल एक आपसमा ठोक्किदा चार जना गम्भीर घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको साइकल एक–आपसमा आइतवार राती ९ः१५ बजेको समयमा ठोक्किदा उनीहरु चारै जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा साइकल यात्री गौरीगञ्ज–३ का ४० बर्षिय अकालु माझीको टाउको तथा शरिरको बिभिन्न भागमा चोट, मोटरसाइकलमा सवार गौरीगञ्ज–१ का ३५ बर्षिय खोद नारायण महत्तोको टाउकोमा चोट, सोही मोटरसाइकलमा सवार सोही स्थानका २५/२६ बर्षिय रतनसिंह राजबंशीको टाउकोमा चोट, सोही मोटरसाइकलमा सवार सोही स्थानका २२ बर्षिय बिकास महत्तोको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

घाइते चारै जना बोल्न नसक्ने गम्भीर अवस्थामा रहेको जनाइएको छ  । घाइते ४ जनालाई नै उपचारको लागि बीएण्डसी हस्पिटल र निम्स अस्पताल दमकतर्फ पठाइएको थियो ।  सबैको अवस्था गम्भिर रहेको र मोटरसाइकल चालक तत्काल उक्त ३ जना मध्ये को रहेको हाल नखुलेको, मोसा र साइकल प्रहरी चौकी  कुञ्जिवारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।