झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रका म्यानपावर कम्पनीका लागि दक्षिण कोरियामा दक्ष कामदार पठाउन पाउने गरी कार्यविधि जारी गरेको छ । म्यानपावर कम्पनीहरुले कार्यविधिमा तोकिएको मापदण्डभित्र रहेका ई–७ भिसामा कामदार पठाउन पाउने छन् ।

ईपीएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेका कम दक्षता प्राप्त विदेशी कामदारले पाउने ई–९ भिसा हो भने ई–७ भिसा विशेषगरी मेकानिकल इन्जिनियरिङ, हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, विकासलगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका कामदारहरुलाई दिने गरिएको छ ।

ईपीएसमार्फत जाने श्रमिकहरुले न्यूनतम मासिक दुई लाख रुपैयाँ कमाउने गरेका छन् भने ई–७ भिसामा जानेहरुको न्यूनतम पारिश्रमिक पनि ईपीएसमार्फत गएकाहरुको भन्दा धेरै हुने गरेको छ । कोरियाको ई–७ भिसामा जाने आप्रवासी श्रमिकको मासिक तलब तीन हजार अमेरिकी डलर अर्थात चार लाख नेपाली रुपैयाँ हाराहारी हुने र उनीहरुले साथमा परिवार पनि लैजान पाउने जनाइएको छ ।

मन्त्रालयले जारी गरेकोे कार्यविधिमा यसअघि जापानमा कामदार पठाउने म्यानपावर कम्पनीको जस्तै ई–७ भिसामा कोरिया पठाउने म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको वा पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरेको तालिम केन्द्र हुनुपर्नेलगायतका प्रावधान राखिएको छ ।

 ई–७ भिसामा पनि कोरियाले ईपीएस प्रणालीमार्फत श्रमिक लैजाँदै आएका विभिन्न १६ मुलुकबाटै श्रमिक लैजाने गरेको छ । हाल ईपीएसबाट दक्षिण कोरिया गएका दक्ष भइसकेका नेपाली कामदारले सीप परीक्षा उत्तीर्ण गरी ई–७ भिसा लिएर पनि काम गर्न सक्ने कोरियाले जनाएको  छ ।