झापा । 

बंगलादेशी नागरिकलाई बैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाउने बहानामा नेपाल ल्याएर बन्धक बनाइ राख्ने कार्यमा संलग्न चार बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नेपालको काठमाडौं ल्याएर वैदेशिक रोजगारका लागि क्यानडा, इटालीलगायतका देशहरूमा पठाइदिने विश्वास दिलाइ नेपाल ल्याएर काठमाडौंको पनकनाजोलस्थित निभाना ग्रिन पिस होम होटलमा राखी पासपोर्ट नियन्त्रणमा लिइ ठगी गरिरहेको अवस्थामा चार बंगलादेशी नागरिकलाई पक्राउ गरिएको हो । 

प्रहरीले बंगलादेशको ढाकाका नुरूल हुडा, शमिम अहमीद, मोहम्म मशुल विल्लाह र पोर्नाय कुमार देलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले विभिन्न प्रलोभनमा नेपाल ल्याएका बंगलादेशीहरूलाई अनेकौं धाकधम्की दिइ कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिइ साथमा रहेको नगदसमेत लिइ जबरजस्ती बन्धक बनाइ राखेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका बंगलादेशीहरूलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको जनाएको छ ।