बिर्तामोड । 

नेपाल ब्यापार कर्मचरी संघ (युनिकम) नेपालले होली बिशेष सुरक्षा सम्बन्धी जन चेतनामुलक कार्यक्रम गरेको छ ।  युनिकम बिर्तामोड नगरको सह–आयोजना तथा युनिकम झापा जिल्लाको आयोजनामा शनिबार ( आज) बिर्तामोडस्थित दुर्गा मन्दिर परिसरमा जन चेतनामुलक कार्यक्रम गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथि युनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले होली पर्वलाई सभ्य र भब्य रुपमा मनाउन सबैलाई आग्रह गरेका छन् । 

आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न युनिकमका अध्यक्ष पौडेलले आग्रह गरेका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपाने र इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले भब्य एंव सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।  

उनीहरुले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गरेका हुन् । प्रहरीले कसैको इच्छा विपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहर पानी प्रयोग गरेमा कानून बमोजिम कारबाही गरिने जनाएका छन् । 

बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत युनिकम जिल्ला सचिव बिमल कट्टेलले गरेका थिए । युनिकम जिल्ला अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निर्वतमान अध्यक्ष कुमार भट्टराई , सरसफाई अभियान्ता बिष्णु आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शान्ति र सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा सामुहिक होली समेत मनाइएको थियो ।