झापा ।

सद्भावनाको पर्व होली, आज झापासहित तराई भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिने गर्छन् । 

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको पनि मानिन्छ ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए । आज तराई–मधेश क्षेत्रमा होली मनाइँदै छ।

पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ। हिजो आइतवार पहाडी तथा हिमाली भेगमा होली पर्व मनाइएको थियो ।