झापा । 

वैदेशिक रोजगार विभागले इजरायलको कृषि क्षेत्रका लागि निजी क्षेत्र अर्थात म्यानपावर कम्पनीबाट कामदार लैजाने प्रलोभनमा ठगी हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । इजरायलमा नेपालबाट कृषि कामदार लैजाने भन्दै नेपालका केही पक्षले प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको उल्लेख गर्दै विभागले निजी क्षेत्र अर्थात बीटुबी प्रणालीबाट कृषि तथा अन्य क्षेत्रमा कामदार पठाउने निर्णय नभएको जनाएको छ । 

विभागका प्रवक्ता एवम् सूचना अधिकारी कविराज उप्रेतीले बुधबार एक विज्ञप्ति जारी गर्दै ठगी सम्बन्धमा विभागले सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गरेका छन् । नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार अर्थात केयर गिभर पठाउने गरिएको छ । विभागले त्यसबाहेक इजरायलसँग कुनैपनि प्रकारको सम्झौता नभएको बताएको  छ ।

यसअघि काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रालिले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय कृषि कामदारको माग ल्याएपछि वैदेशिक रोजगार क्षेत्रमा हलचल पैदा भएको थियो । तर उक्त म्यानपावर कम्पनीले ल्याएको २ सय पुरूष कृषि कामदारको भिषा हालसम्म नआएको बताइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले पूर्व स्वीकृति दिने कर्मचारीलाई अनुसन्धानको घेरामा ल्याउने बताएका थिए । मन्त्रालयले उक्त प्रालिका सञ्चालकको पृष्ठभूमि र कारोबारबारे अनौपचारिक रूपमा समेत अध्ययन गरिरहेको समाचार स्रोतले जनाएको छ ।