झापा । 

बैदेशिक रोजगार बिभाग कार्यालय तीन सिफ्ट गरेर एक घण्टाभित्रै श्रम स्वीकृति दिन शुरु गरेको छ । वैदेशिक रोजगार कार्यालय ताहचलले दैनिक तीन सिफ्टमा सेवा दिन थालेसँगै एक घण्टाभित्रै श्रम स्वीकृति दिन शुरु गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी कार्यालयमा कर्मचारी तथा प्राविधिक पक्ष मजबुत बनाउन निर्देशन दिएपछि कार्यालयले दैनिक तीन सिफ्टमा काम गर्न थालेको छ । 

वैदेशिक रोजगार विभागले हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालेको छ । 

बिभागका अनुसार शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा दिन शुरु गरिएको जनाएको छ । कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता बढाएर सहज रूपमा बिहान १० बजेदेखि दिने टोकन प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको विभागले जनाएको छ । 

वैदेशिक रोजगार कार्यालयमा हाल दैनिक एक हजार ५ सयदेखि २ हजार श्रमिकले पुनः श्रम स्वीकृति र १ हजार जनाले नयाँ श्रम स्वीकृति माग गर्ने गरेको कार्यालयले जनाएको छ ।