झापा । 

वैदेशिक रोजगारमा गएका कामदारबाट जीवन बीमा कम्पनीहरुले आठ महिनामा करिब २ अर्ब रुपैयाँ बराबरको बिमा गरेका छन् । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा वैदेशिक रोजगार बीमा लेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बीमा व्यापार गरेका छन् नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको विवरणअनुसार १० वटा जीवन बीमा कम्पनीले सो बीमा शुल्क असुली गरेका छन् । 

वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यापार गरेको छ । उक्त कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट पछिल्लो ८ महिनाको अवधिमा ४९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क असुली गरेको छ ।

 नेपाल लाइफले ४३ करोड ५३ लाख, आइएमई लाइफले २२ करोड ६४ लाख, एसियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, नेशनल लाइफले १७ करोड ५१ लाख, सूर्यज्योति लाइफले १४ करोड २४ लाख, सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख, रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख, सिटिजन लाइफले ७ करोड ४४ लाख, प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कूल बीमा शुल्क असुली गरेका छन् ।

 वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमावापत १ हजार ५ सयदेखि ४ हजारसम्मको र कोरिया र इजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ । 

बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको जारी भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृति ३ बर्ष भन्दा बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् ।