झापा । 

वैदेशिक रोजगार विभागमा हाल शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल्स एजेन्सी र व्यक्तिगत रुपमा युरोपेली मुलुकमा पठाउने बहानामा ठूलो परिणामको रकम ठगी भएको भन्दै दैनिक रुपमा लाखौं असुल उपर र दोषीलाई कारबाहीको माग गर्दै जाहेरी पर्ने गरेका छन् । बीबीसी नेपाली सेवालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा युरोपेली देशहरु पठाइदिने भन्दै ठगी गर्ने र विभिन्न ठाउँमा पु¥याएर अलपत्र पार्ने क्रम तीव्र रुपमा बढ्न थालेको उल्लेख गरेका छन् । 

खाडी र मलेसिया निर्भर नेपालीको श्रम गन्तव्य पछिल्ला दिनमा क्यानडा, अष्ट्रेलियालगायत युरोपेली देशहरु हुन थालेपछि ती देशमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि उत्तिकै तीव्र देखिएको हो । वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनि ३५ जना व्यक्तिको ६ करोड रुपैयाँ ठगी गरेको उजुरीका आधारमा केही दिनअघि प्रहरीले झापाको कमल गाउँपालिका–७ घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने केदार चौधरीलाई पक्राउ गरेको थियो।

चौधरीले सुमन राईसमेत ३५ जनालाई  वैदेशिक रोजगारका लागि बेलायत पठाइदिन्छु भनि प्रतिव्यक्ति ९ लाखदेखि २० लाख रुपैयाँ उठाएर भारतका विभिन्न स्थानमा पु¥याउने र नेपाल फर्काउने गरेको प्रहरीले बताएको छ ।  उनले एक्सपर्ट कन्सल्ट्यान्सी खोलेर कतिपयलाई अजरबैजानसम्म पुर्‍याइ रकम असुली गरेको पाइएको पनि प्रहरीको भनाइ छ । यसको केही दिनअघि यस्तै ठूलो अंकको वैदेशिक रोजगार ठगीमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पक्राउ परेका थिए ।

उनीहरुले पनि युरोपेली मुलुकको वैदेशिक रोजगारीको नाममा तीन सय ३७ जनाको ५ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएको थियो । तामाङद्वयले पनि युरो विइङ्स एजुकेसन कन्सल्ट्यान्सी नामको संस्थाको आडमा वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याण्डलगायत देशमा पठाइदिन्छौं भन्दै झुटो प्रलोभन दिएर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

 सार्वजनिक विवरणले परम्परागत श्रम गन्तव्य मुलुक खाडी र मलेसिया भन्दा युरोप र क्यानडाको रोजगारीको नाममा भइरहेको ठगी गम्भीर रहेको तर नियन्त्रण गर्न सरकार असफल भएको कतिपयको भनाइ छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा क्यानडा पठाइदिने भनेर मात्रै ठगी गरेको दाबीसहित विभागमा १ सय १३ वटा उजुरी दर्ता भएको सार्वजनिक गरेका छन् । उजुरीकर्ता मध्ये अधिकांशले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै आफूहरुबाट रकम लिएको दाबी गरेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल युरोप, अमेरिका र क्यानडाका नाममा ठगी सँगसँगै मानव तस्करी पनि बढेको बताउँछन् ।

मानव तस्करीमा पीडितको पनि संलग्नता हुने गरेको छ । ठूलो रकमको ठगीका घटना बढ्नुमा  अनुसन्धान वा मुद्दा दर्ता भएपनि मुद्दा विचाराधीन रहेको अवस्थामा पीडित र पीडकबीच मेलमिलाप हुने कानूनी व्यवस्था पनि सहयोगी बनेको कतिपय बताउँछन् । शुरुमा थुनामा परेपनि मुद्दा चल्दा चल्दैको अवस्थामा रकम फर्काए छुट्न पाइने भएपछि ठगी बढेको उनीहरुको भनाइ छ ।