झापा । 

इरानले  इजरायलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपाली त्रसित बनेका छन् ।  इरानले शनिबार राति गरेको ड्रोन आक्रमणलाई इजरायलको हवाई रक्षा प्रणाली ‘आइरन डोम’मार्फत इजरायली सिमाना बाहिर नै ९९ प्रतिशत विफल गराएको जनाइएको छ ।

तर नेपालबाट गएका अधिकांश नेपाली आक्रमणको निशाना पर्ने सीमा क्षेत्रमा काम गर्ने भएका कारण उनीहरु बढी त्रसित भएको बताइएको छ । शुरूमा बढी डराएको भएपनि इजरायलको हवाई रक्षा प्रणालीले सिमानामा प्रवेश अघि नै ड्रोनबाट गरिएका आक्रमण विफल पारेको बताएपछि अवस्था सामान्य बन्ने आंकलन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

इरानी आक्रमणपछि इजरायलमा रहेको नेपाली दूतावासले सूचना जारी गर्दै सतर्कता अपनाउन नेपालीलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै इजरायलमाथि इरानी हमला शुरु भएको सन्दर्भमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू पालना गर्न भन्दै सतर्क रहन आग्रह गरेको हो ।

इरानको आक्रमणपछि इजरायलमा सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरका सभा वा भेला नगर्न निर्देशन जारी गरिएको छ । नेपाली दूतावासले पनि आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका र अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन नेपालीलाई आग्रह गरेको छ ।