झापा । 

नेपालले कतारसँग १९ बर्षअघि भएको श्रम सम्झौता परिमार्जनसहित श्रम सम्झौता नवीकरण गर्न प्रस्ताव अघि सारेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न नेपाल भ्रमणका अवसरमा अन्य द्विपक्षीय सम्झौतासहित श्रम सम्झौता नवीकरण गर्न नेपालले कतारसँग प्रस्ताव गरेको हो ।

परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा सार्वजनिक नगरेपनि आगामी वैशाख ११–१२ मा कतारी अमिर अल–थानीको नेपाल भ्रमणको तयारी गरिरहेको छ । कतारी अमिरको पहिलो नेपाल भ्रमण भएकोले दुवै देशले उक्त भ्रमणलाई उच्च महत्व दिएका छन् । यसअघि गत कात्तिक २० देखि २१ गते तय भएको अल थानीको नेपाल भ्रमण इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण स्थगित भएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एइ अन्सारीबीच मंगलबार मन्त्रालयमा भएको  शिष्टाचार भेटमा कतारी अमिरको भ्रमण र श्रम सम्झौता नवीकरण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।