झापा । 

बैदेशिक रोजगारका लागि चैत महिनामा ७० हजार ९ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् ।  चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे पाँच लाख युवायुवतीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा मंसिर र चैत महिनामा सबैभन्दा बढी नेपाली विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको चैत महिनाको प्रगति विवरणअनुसार चैत महिनामा मात्रै ७० हजार ९ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । 

 म्यानपावर कम्पनी अर्थात संस्थागत रुपमा गएकाको संख्या ३३ हजार ३ सय ६९ रहेको छ भने ३७ हजार ५ सय ६४ जना पुनः श्रम स्वीकृति, व्यक्तिगत, सरकारी प्रक्रिया जीटुजीका प्रक्रियाबाट गएका हुन् । गत मंसिरमा ७१ हजार २ सय ७६ जनाको श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीमार्फत २५ हजार ४५ जनाको मात्रा श्रम स्वीकृति भएको थियो । 

 चैतमा युरोपेली मुलुक मध्ये रोमानिया, साइप्रस, जापानमा माल्दिभ्स, मौरिसस, दक्षिण कोरिया, उज्वेकिस्तान, युद्धग्रस्त रसिया, मकाउ, जोर्डन, हङकङ, ब्रुनाईमा रोजगारीका लागि कामदार गएका बिभागले जनाएको छ । 

चैतमा सरकारले खुला गरेका मध्ये ८८ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेकोमा म्यानपावर कम्पनीहरूले २० मुलुकमा मात्रै कामदार पठाएको विभागको तथ्यांकमा छ ।