झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजधानीमा बृहत् रोजगारी मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगारदाता, रोजगारी तथा उपयुक्त अवसरको खोजीमा रहेका युवायुवती र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ राजधानीमा बृहत् रोजगारी मेला आयोजना गर्ने तयारी गरेको जनाइएको छ । रोजगारी मेलाका लागि आयोजना गर्ने बिषयमा विज्ञ तथा सरोकारवालाका सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल गरेको थियो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
रोजगार मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवायुवती र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए । साथै मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवायुवतीलाई लक्षित गरी रोजगारदाताले चाहे अनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्ने पनि मन्त्री अर्यालले बताएका छन् ।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको उल्लेख गर्दै मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने बताए । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको उल्लेख गरे ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
छलफलमा नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुगांना, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, उद्योग बाणिज्य महासंघ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियनका उपाध्यक्ष तेजेन्द्र कार्की, वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपाललगायतका व्यक्तिले आ–आफनो सुझाव राखेका थिए । कार्यक्रममा आईएलओका प्रतिनिधि सौरभ जोशीले कार्यपत्र प्रस्तुत गरको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।