झापा । 

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले चाहे अनुसारको सेवा क्षेत्र (सर्भिस सेक्टर) परिवर्तन गर्न सक्ने भएका छन् । ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले २०२४ डिसेम्बरको ३१ तारिकभित्र सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाइएको छ।  

ईपीएस कोरिया शाखाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार मानव संशाधन विकास (एचआरडी) कोरियाले पठाएको जनाएको छ । शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम पठाइएको छ ।

पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न नपाइने बताइएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नभइ अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा जनाइएको छ । 

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई अनुरोध गरेका थिए । गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए ।