झापा । 

पछिल्ले समय बैदेशिक रोजगार ठगी प्रकरणमा आफ्नै परिवारले फसाएका घटना क्रमिक रुपमा बाहिर आएका छन् । बैदेशिक रोजगारका लागि बिभिन्न मुलुक पठाउने भनेर रकम आफन्तको खातामा माग गर्ने घटना बाहिरिएका हुन् ।

यसै क्रममा काठमाडौं बुढानिलकण्ठकी ७१ वर्षीया ललिता लामा वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परिन् । जाहेरीमा लामाको बैंक खातामा वैदेशिक रोजगारीमा यूएई पठाउन भनि २ लाख ५० हजार जम्मा भएको बैंक भौचर देखिएपछि बिभाग उनको घरमा प्रहरी लिएर पुगेको थियो ।  वैदेशिक रोजगारीका लागि एक वर्ष अगाडि यूएई गएकी छोरीले आफूले आमाको बैंक खाता प्रयोग गरी वैदेशिक रोजगारका लागि रकम लिएको बताइन् । 

 पदम रोकालाई कम्बोडिया पठाइदिन्छु भन्दै श्रीमतीको बैंक खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ लिएका चितवन राप्ती नगरपालिका–९ लालपुर घर भइ भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजमान श्रेष्ठले पनि त्यसरी नै आफ्नी श्रीमतीको बैंक खाता प्रयोग गरेका फरार छन् । तर, उनकी श्रीमती राज्यलक्ष्मी श्रेष्ठ पक्राउ परिन् । सेक्युरिटी गार्डमा एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगादिने भन्दै प्रलोभनमा पारी पीडितबाट राज्यलक्ष्मीले ७ लाख लिएको जाहेरी परेको भएपनि राज्यलक्ष्मीले उक्त रकम देख्नसमेत पाइनन् ।

 प्रहरीले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगी मुद्दा चलाउन पहिलोपटक ७ दिनको म्याद थप गरेको छ ।

हाल वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीका उजुरी अस्वभाविक रुपमा बढेका छन् । आफन्त र परिवारका सदस्यलाई नै मोहरा बनाएर उनीहरुलाई प्रयोग गरी वैदेशिक रोजगारका लागि  रकम बुझ्न लगाएर वा बैंक खाता प्रयोग गरेर फसाउने प्रवृत्ति पनि व्यापक बनेको छ । 

 हाल अमेरिका, क्यानडासहित विभिन्न युरोपेली मुलुकमा आकर्षक तलबसहितको रोजगारीको प्रलोभनमा पारी ठगी गरेको उजुरीमा दैनिक विभिन्न व्यक्ति पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्ने केही वास्तविक ठग भएपनि अधिकांश परिबन्दमा परेका ललिता लामा र राज्यलक्ष्मी श्रेष्ठ जस्ता इमानदार गृहणी हुने गरेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।