झापा । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनलाई ब्यवसायीले तिब्र बनाएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एशोसिएसनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूका आन्तरिक तयारीले जुटेका हुन् । आगामी वैशाख २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा जुटेका छन् । 

एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।

हालसम्म अध्यक्षका लागि चार जना व्यवसायी आ–आफ्नो क्षेत्रबाट लागिपरेको स्रोतको भनाइ छ । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेको भएपनि अध्यक्षको टुंगो लागेपछि मात्रै उनीहरू खुल्ने योजनामा देखिन्छन् । अहिले नेतृत्व लिन भित्र भित्रै जोड घटाउ तिब्र रुपमा चलिरहेको  बुझिएको छ । चुनावी प्रतिश्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दावी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष  कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्य भन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । 

२०६३ सालमा स्थापना भएको एशोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमितिमा निर्विरोध निवाचित भएका थिए । पछिल्ला केही वर्षयता सहमति हुन नसकेपछि हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकाल र खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।