झापा । 

वैदेशिक रोजगारी ठगी आरोपमा पक्राउ परेका माथि विभागमै पिडीतले आक्रमण गरेका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको अभियोगमा पक्राउ परेका माथि पीडित एक महिलाले वैदेशिक रोजगार विभाग ताहाचल परिसरमा आक्रमण गरेकी छन् ।

४ सय २२ जना युवायुवतीलाई वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै ठगी गरेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली पक्राउ परेका थिए । उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि म्याद थप गर्न वैदेशिक रोजगार न्यायाधिकरण लगेर विभागमा ल्याउँदा विभाग परिसरमै पीडित महिलाले आक्रमण गरेकी हुन् ।

एक प्रत्यक्षदर्शीका अनुसार विभागको गेटमा कुरेर बसेकी ती पीडित महिलाले प्रहरीको भ्यानबाट ओर्लिने बेला ‘तैंले मलाई बर्बाद गरिस्, चर्को ब्याजमा लिएको पैसा लुटेर बर्बाद गरिस्, तेरो कारणले लोग्नेले डिभोर्स मागेको छ, मलाई सडकमा पुर्‍याइस्’ भन्दै झम्टेकी थिइन् ।

अभियुक्तहरुले कुखुरा फार्म सञ्चालन गरेका कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमलाई झुक्याएर उनको नाममा कन्सल्ट्यान्सी दर्ता गराइ बैंक खाता खोलेर सोही खातामा वैदेशिक रोजगारका लागि रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको प्रहरीले बताएको छ । बयलकोटीले गत असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने ललित बमसँग सम्पर्क कायम गरी ठगीको तानाबाना बुनेका थिए ।

बयलकोटीले आफ्नोसमेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको र फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क बढाएर फार्म सञ्चालन भन्दा कन्सल्ट्यान्सी दर्ता गर्दा फाइदा धेरै हुने प्रलोभनमा पारेर बमको नाममा भिसा प्लस प्रालि नामको कन्सल्ट्यान्सी दर्ता गराइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइलसमेत बरामद गरेको थियो ।

विदेश पठाउने भन्दै शुरुमा ५० हजार लिएर अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख रकम माग गरेको पाइएको प्रहरीले बताएको छ । गिरोहमा रहेर ठगी गर्नेहरु केही भारतमा बसेर योजना बनाउने गरेकोसमेत पाइएको प्रहरीको भनाइ छ । उनीहरुले कम्पनीको नामबाट निकालेको सिमकार्डसमेत प्रयोग गरी फेसबुक, ह्वाट्सएप र टिकटकलगायतका सामाजिक सञ्जालहरुमा विदेश जानलाई विज्ञापन गरी रकम उठाएका थिए ।

बमको बैंक खातामा रकम आएपछि चेक काट्न लगाइ लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने र प्रयोग गर्ने गरेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।  गिरोहले रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख, न्युजिल्याण्डका लागि १६ लाख लाग्ने भन्दै रकम उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको पनि प्रहरीले जनाएको छ ।