झापा । 

स्वास्थ्य परीक्षणलगायतका क्षेत्रमा सिण्डिकेट खडा गरेको भए त्यसलाई अन्त्य गरिने भएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले वैदेशिक रोजगारका क्षेत्रमा हुने स्वास्थ्य परीक्षणलगायतका क्षेत्रमा सिण्डिकेट साथै अन्य गलत भएको भए ती निर्णय परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले विगतदेखि हालसम्म भएका निर्णयहरूबारे छलफल गरेर त्यस्ता सिण्डिकेट हटाउन पहल गर्ने बताएका छन् । 

नेपाल मेडिकल व्यवसायी संघको सातौं वार्षिक साधारण सभाको शनिबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका खानले उनले म्यानपावर कम्पनीले सेवा शुल्क नपाएको अवस्थामा एक महिनाको तलब बराबरको रकम सेवा शुल्कबापत लिन पाउनुपर्ने माग सैद्धान्तिक रुपमा सही भएपनि व्यवहारिक छलफल गर्नुपर्ने बताएका छन् ।

खानले सरकारले आफैंले वैदेशिक रोजगारीमा कामदार पठाउने काम समाजवाद उन्मुख राज्य व्यवस्था विरुद्धको नीति भएकाले त्यसमा पनि पुनर्विचार आवश्यक भएको टिप्पणी गरे ।

सभापति खानले मेडिकल फेल भएका कामदारलाई नक्कली पास बनाएर विदेश नपठाउन म्यानपावर कम्पनी र मेडिकल व्यवसायीसँग आग्रह गरेका छन् । उनले वैदेशिक रोजगारमा जाने कामदारले म्यानपावर कम्पनीलाई देउता समान मानेकाले उनीहरूलाई कुनैपनि अवस्थामा धोका नदिन आग्रह गरे ।