झापा । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवा शुल्कको समस्या समाधान गरी युरोपेली मुलुकको मागपत्र प्रमाणीकरणको विषयमा नयाँ व्यवस्था गर्ने भएको छ । 

मन्त्री डोलप्रसाद अर्यालले  वैदेशिक रोजगार व्यवसायीहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै  सेवा शुल्कको समस्या समाधान गरी युरोपेली मुलुकको मागपत्र प्रमाणीकरणको विषयमा नयाँ व्यवस्था गर्ने धारणा राखेका हुन् ।

मन्त्री अर्यालले खाडी र मलेसिया जाने कामदारको सेवा शुल्कको विषयमा व्यवस्था भएपनि युरोपेली मुलुक जाने कामदार पठाउँदा म्यानपावर कम्पनीको सेवा शुल्कका विषयमा अस्पष्टता रहेकोले मन्त्रालयले त्यस विषयमा नयाँ निर्णयको गृहकार्यमा रहेको बताए ।

मन्त्री अर्यालले नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले उठाएको जिज्ञासाको जवाफ दिदै सरकार वैदेशिक रोजगारमा कामदार पठाउने मान्यतामा नरहेको, फ्रि भिसा फ्रि टिकट निर्णय प्रभावकारी प्रमाणित नभएको विषयमा कन्भिन्स रहेकाले त्यसैमा टेकेर स्थायित्व प्रदान गर्न सक्ने नीति लिन मन्त्रालयले काम गरिरहेको दाबी गरे ।

मन्त्री अर्यालले यसअघि विभिन्न भिसामा विदेश गएर असुरक्षित रूपमा रोजगारीमा रहेकालाई यही मे महिनाको ३१ तारिकसम्म मात्रै आवेदन दिए श्रम स्वीकृति दिने मान्यतामा रहेर कार्यविधि जारी गरेकाले भिजिट भिसामा जान दुरूत्साहन पुग्ने गरी निर्णय नगरेको बताए ।