झापा । 

गत वर्ष सन् २०२३ मा नेपालीहरु विश्वका २ सयभन्दा बढी मुलुकमा पुगेका भएपनि नेपालले विश्वका १ सय ११ मुलुकमा रोजगारीका लागि जान अनुमति (श्रम स्वीकृति) दिने गरेको छ ।

हाल विश्वका २ सय बढी मुलुकमा नेपालीहरु पुगेका भएपनि १८६ मुलुकमा उल्लेख्य मात्रामा नेपाली पुगेको तथ्यांक रहेकाले ती मुलुकको श्रम स्वीकृति खुलाउन म्यानपावर ब्यवसायीले माग गरेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदार पुगेका विश्वका सबै मुलुकका लागि श्रम स्वीकृति दिन माग गरेको छ । संघले सोमबार वैदेशिक रोजगार विभागमा लिखित निवेदन दर्ता गराइ उक्त माग गरेको हो ।

संघका महासचिव मेघनाथ भुर्तेलले रोजगारीका लागि जान अनुमति (श्रम स्वीकृति) नदिइएका मुलुकमा नेपाली कामदार व्यक्तिगत प्रयास वा अनधिकृत व्यक्तिहरुमार्फत जाने र ठगीमा पर्ने गरेकाले ठगी रोकेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित बनाउन पनि श्रम स्वीकृति दिन आवश्यक रहेको बताएका छन्।

नेपालमा हाल एक हजारको हाराहारीमा म्यानपावर कम्पनी छन् । तर उनीहरु निरन्तर रुपमा खाडीका ६ मुलुक र मलेसियामा कामदार पठाउन केन्द्रित छन् । नयाँ गन्तव्य नहुँदा नेपालीको वैदेशिक रोजगारमा विविधता आउन सकेको छैन । आकर्षक कमाइ हुने इजरायल, बेलायत र दक्षिण कोरियामा जीटुजी अर्थात सरकारले पठाउने गरेका कारण कोरिया बाहेकका मुलुकमा नगन्य मात्रामा नेपाली गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

 नेपालको वैदेशिक रोजगार व्यवसायमा हाल अंग्रेजी भाषामा दख्खल राख्ने नयाँ पुस्ताका व्यवसायी र शिक्षित जनशक्ति पनि उल्लेख्य मात्रामा देखिन थालेकाले नयाँ–नयाँ गन्तव्य खोजी गरिनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुले माग गर्दै आएका छन् ।