झापा । 

वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्या मंगलबार रातिसम्म पूर्ण रुपमा  समाधान हुन नसक्दा बिदेश जाने कामदार प्रभावित भएका छन् । सर्भरमा समस्या आएपछि पूर्व तथा अन्तिम श्रम स्वीकृतिका काम प्रभावित  भएका छन् । 

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त बरालले मंगलबार कार्यालय समयभित्र समस्या समाधान हुने गरी काम भइरहेको बताएका थिए । मंगलबार अपराह्नदेखि सर्भरले काम गरेपनि पुनः तालिम प्रदायक संस्थाको विवरण अपलोड नभएका कारण अन्तिम स्वीकृतिको काममा समस्या भएको भएको हो । 

निर्देशक बरालले श्रम स्वीकृति भएको, तर स्टिकर नभएकाहरुलाई वैदेशिक रोजगारीका लागि मंगलबार पनि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर टिकट खेर जाने अवस्थाको अन्त्य गरिएको जानकारी दिए । साँझ ८ बजेपछि अन्तिम स्वीकृतिको निस्सा दिन थालिएको विभागले जनाएको छ । प्रणालीमा खराबी आएपछि विभागले श्रम स्वीकृति नभएसम्म विदेश जान टिकट नलिन आग्रह गरेको छ । तर अन्तर्राष्ट्रिय उडानमा श्रम स्वीकृति लिएकै दिन टिकट काटेर उड्नु अत्यन्तै महँगो हुने मात्र हैन टिकट नै नपाइने अवस्था आउने भएकाले केही समय पहिले नै टिकट खरिद गर्ने गरिएको व्यवसायीहरुको भनाइ छ ।

सर्भर नबनेपछि कामदार उडाउनुपर्ने बाध्यताले हवाई टिकट बनाएका व्यवसायी समस्याको समाधान खोज्दै विभाग पुगेको थिए । बुधबारको उडान भएका कतिपय व्यवसायी पनि समस्या लिएर विभाग पुगेका थिए । तर व्यवसायीले मंगलबार रातिसम्म टिकट भएकाहरुको मात्रै समस्या समाधान भएको जानकारी दिए । सर्भरमा आएको यो समस्याले मलेसियाको काम गरिरहेका व्यवसायी र कामदार झन् मर्कामा परेका छन् । मलेसियाले यही जेठ १८ गतेदेखि विदेशी कामदार लिन रोक लगाएको छ, जसका कारण मलेसियाको भिसा आएका कामदार विलम्ब नगरी जेठ १८ गते अगावै उडिसक्नुपर्ने हुन्छ । सर्भरका कारणले समयमै श्रम स्वीकृति नहुँदा समस्या निम्तिएको हो ।

विभागको सर्भर २०७२ सालमा स्थापना भएको हो । हाल उक्त सर्भरमा बैंक, मेडिकल, अभिमुखीकरण, बीमा कम्पनी, कन्सुलर कार्यालय, विदेशस्थित नेपाली दूतावास गरी करिब दुई दर्जन संस्था जोडिएका छन् । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले ८८ घण्टा लाग्ने श्रम स्वीकृति एक घण्टामा झारेको भन्दै त्यसलाई ठूलो उपलब्धि बताएका थिए । उनले सञ्चारमाध्यममा बोल्ने क्रममा जहाँ पनि ‘सुधार गरे हुने रहेछ, मैले एकै घण्टामा श्रम स्वीकृतिको प्रबन्ध गराएँ’ भन्ने अभिव्यक्ति दिने गरेका छन् ।