झापा । 

वैदेशिक रोजगारीको सिलसिलमा अमेरिकालगायतका देशमा पठाउने बहानामा झापाका एक जनासहित तीन जनालाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी कोइलाली गाउँपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार, झापा घर भइ काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र कैलाली भजनी गाउँपालिका–१ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने  ३६ वर्षीय विशाल हमाल  रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हमालले अमेरिका पठाइदिन्छु भन्दै २ जनाबाट १६ लाख ७० हजार रूपैयाँ, शैलेशले बेलायत पठाइदिन्छु भन्दै १ जनाबाट ५ लाख ४० हजार रूपैयाँ, प्रशान्तले भिजिट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगीमा कारबाही चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।