अहिले बुद्ध पूर्णिमा सँगै उभौली पर्व चलिरहेको छ । विशेष गरेर किरातीहरुले चण्डी नाचेर र खस सभ्यताबाट आएका व्राहम्ण, क्षेत्री, ठकुरी र खस दशनामीहरुले गोठधूप कुलपूजा देवाली मस्ट पूजा गरि मनाई रहेका छन । गोठधूप संस्कृतिको उठान गर्दा मानव सभ्यताका सूरवाति कृषि र पशुपालनको युगमा पुर्याउछ । 

गोठ भन्नासाथ पालेका घरेलु जनावरहरुको आश्रय स्थल हो । जङ्गली जनावरबाट सुरक्षित राख्न मान्छेले पशुलाई गोठमा  राख्न थाले र हिंसक जनावर तथा रोग व्याधिबाट जोगाउन आफ्ना चौपायाको गोठपूजा गर्ने प्रथा रहेको किंवदन्ती पाइन्छ । खास गरि गोठधूपको संस्कृति खस सभ्यता सग गासिएको पाईन्छ । पश्चिम नेपालमा खस सम्राज्य हुदा खस राजा नागराजले पशु गोठहरु जाडो बढ्दै जादा दैलेखको दुल्लु तिर चिसो छल्न उधौली र गर्मी चड्दै जाँदा उखुमबाट जोगिन जुम्लाको सिन्जा तिर उभौली वर्षको २ पटक बसाई सराई  सार्ने चलन चलाएको पाईन्छ ।

यसरी  उधौली उभौली मंसिरे धान्य पूर्णिमा र बैशाखको बुद्ध पूर्णिमा पर्वको बेलामा अर्थात वर्षको दुई पटक परापुर्वक देखि सोही क्षेत्रमा थातथलो रहेको खस आर्यहरुले आजसम्म पनि यो संस्कृति पूजा मनाउदै आईरहेका छन् । गोठधूपमा गोठका सबै देवि देवताहरुको पूजा गरिएता पनि मुख्यरुपमा पूजिने देवता मस्त मन्डलादी विन्दवासिनी हुन । मस्त भन्नाले महारुद शिव र विन्दबासिनी भन्नाले पार्वती हुन । महारुद्रलाई मस्टा देवताको मामाको रुपमा पुजिन्छ । गोबरमा  धेरै वटा औलाले  सहस्रधारा कुण्ड बनाई  दूध चडाई कैलास मानसरोवको राजा रानी अर्थात शिव पार्वतीको पनि मानभाउ सहित बक्साएर पुजापाठ, दोलखाको पाँच पाण्डव भिमसेन, नाम्लुङ सिकारी, डाडापारिको देऊ, र गोठका रखवाला आईतबारे सम्मको पनि पूजा हुन्छ ।

यस पूजामा आफ्ना दाजुभाइ भेला भएर एउटा घरमा गाई, भैसीको थलामा सामुहिक रुपमा जम्मा हुन्छन पूजाका लागि आफन्तले सबै घरबाट दूध लगायत अन्य पूजा भेटी फूलफलेदो सामाग्रीहरु ल्याउछन् र सामुहिक पुजा गर्दछन् । मस्ताको प्रतिकको रुपमा गोबरको कुण्ड बनाई ढुङ्गाको थपना ठडाउने बाँस, सिमली, पैयू, अमलाको लिङ्गोमा ध्वजापताका सिन्दुर अविर लगाएको काठको मूर्चल सहित  थान  बनाईन्छ । 

थानमा धानको पिठोको ठाडो तेस्रो रेखी हाली सोही माथि सिमलीको पत्ता ओध्याई सो माथि खीर, बाबर ,रोटी चडाई लिङ्गोमा काचो धागोले बाधि रातो रङ, अक्षेता, फूल चढाई दियो, कलश, थापि ठेका, दुधेरा, मदानी एउटै सरामा बाधि टाट्नोको आडमा झुण्डाएर गाईको घीऊ सुनपाति, भैरुङपाति, धूपिलाई केराको दाम्चामा उठाएको आगोको कोइलामा तितेपाति फूलको पातको मुठाले थूप हाल्दै देवतालाई यसरी पुकारिन्छ – परमेश्वरा तिमी महारुद्र गौरी गोस्वाई गोष्ठादी देवता हौ तिमी चौपाया दौपायाको धनि सृष्टिका धनि हौ तिमीले हाम्रा पशु चौपायाको रक्षा गरिदेउ खोक्ने, धक्ने, लमुते मुत्ने, छेर्ने जस्ता सबै रोगको हरण गरिदेउ भन्दै फलाक्छन् । 

सहभागि सबै दाजुभाइ सामुहिकरुपमा शंख, घण्टा, चमर, ठेकी दुधेरो मदानी बोकेर तीन पटक गोठ परिक्रमा गर्दछन । गोठथला परिक्रमा गर्दा माछाको पेरुङ्गो पनि साथै हुन्छ । आदिम पौराणिक कालमा हासुले पाडुले नामका दुई वटा कुकुरहरुले गोठका चौपायाहरुको सुरक्षा गरेको कहानी मुताबिक दुई जना लोग्ने मान्छेलाई कुकुर बनाई खीर खुवाई धनुषकाँड हान्ने पनि गरिन्छ । पूर्णिमा बुधबार भएमा गोठधूप गर्न हुदैन भनेर कतिले पञ्चमी वा दशमीमा गर्ने गरेको पाईन्छ । गोष्ठादी देवता खुसी भए पछि चौपाया दौपाया मौलाएर जाने अन्न पानीमा शह बस्ने विस्वास गरिन्छ । गोठ पूजा गरेपछि मात्र घरपूजा गर्ने रीति पनि चलेको छ ।

 खस मस्टा परम्परा मान्ने धेरै जसो जातिले गोठधूपमा गाई भैसी बाधेको किलो दाम्लोमा परेवा, कुखुरा, बोका काटेर मस्टालाई बली चढाउने परम्परा पनि पाईन्छ । विशेषत गोष्ठादी भनिने गोठ पूजा उधौलीमा दक्षिण उधो फर्किएर उभौलिमा उत्तर उभो फर्किएर गरिन्छ । यो धूपको विशेषता भनेकै खीर पकाउने र खीर कै प्रसादी बाड्ने हो । 

कुनै धर्म ग्रन्थ शास्त्रमा पूजा विधि नलेखिएको गोठधूप हाम्रो पुर्खाहरुले मानि ल्याएको एउटा परम्परागत मौलिक नेपाली संस्कृति हो । बदलिदो नेपाली समाज बसाई सराई सगै पशुपालन व्यावसाय छोड्दै शहर केन्द्रित विलासी जीवन यापन गर्ने देखासिकी बढे सगै पशुपालन व्यावसाय संकटमा र गोठधूप संस्कृति हराउदै गएको आभाष हुन्छ । हाम्रा भावि पुस्तालाई हाम्रो सग्लो संस्कृति सुम्पेर हाम्रो खस सभ्यताको संरक्षण गरौ ।