झापा

संघीय गणतान्त्रिक मूलुक घोषणा भएपश्चात नेपालमा  स्वास्थ्य क्षेत्रको सेवामा   आमूल परिवर्तन आएको  छ । देश संघीय संरचनामा परिवर्तनपछि कोशी प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाहा गरिरहेको हो ।  स्वास्थ्य अभावकै कारण कुनैपनि नेपालीले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने ध्येय राखी कोशी प्रदेश सरकारले करिव ७ बर्षको अन्तरालमा जनताले महशुष गर्ने गरि स्वास्थ्य सेवा प्रवाहा गरिरहेको छ ।  

यसैक्रममा कोशी प्रदेश सरकारले झापाको  स्वास्थ्य क्षेत्रको विकासको  लागि आर्थिक र प्राविद्यिक स्रोत जुटाएर स्वास्थ्य हव बनाउने प्रण गरेर कार्य अघि बढाएको  छ । यसको पछिल्लो उदाहरण हेर्न झापाका सरकारी अस्पताल तथा स्थानीय तह अन्र्तगत सञ्चालनमा आएका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा देखिएको भिडलाई हेर्न सकिन्छ ।

यतिवेला संघ प्रदेश र स्थानीय तहले लगानी गरेका सरकारी  अस्पताल तथा स्वास्थ्य चौकीमा निजि अस्पताल सरहको सेवा  प्रवाहा भैरहेको छ ।  भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको आर्कषण निजि भन्दा सरकारी अस्पतालहरुमा बढेको  देखिएको छ ।

कुनैपनि व्यक्ती  स्वास्थ्य बन्नका लागि आयूर्वेद उपचार पद्धती पनि एउटा मेरुदण्ड हो । संघीय, प्रदेश र स्थानीय निकायको  सहयोग तथा सहकार्यमा सञ्चालनमा आएको झापाको आयुर्वेद अस्पतालमा समेत स्वास्थ्य सेवा लिने सेवाग्राहीको भिड  बढ्दै गएको छ ।

संघीयतापछि कोशी प्रदेश मातहतमा झापाको भद्रपुर–८ मा मेची प्रादेशिक अस्पताल सञ्चालनमा छ । त्यस्तै कमल गाउँपालिकास्थित लखनपुरमा प्रादेशिक आयुर्वेद अस्पताल, भद्रपुर–१० मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा विभिन्न पालिकाका वडाहरुमा स्वास्थ्य संस्था सञ्चालनमा  छन् ।

प्रदेश भरिका बालबालिकाको स्वास्थ्य अवस्था बुझदै   दमकस्थित किवज अस्पताललाई  कोशी प्रदेशले  आर्थिक र प्राविद्यिक सहयोग उपलब्ध गराएर गुणस्तरीय स्वास्थ्य सेवा प्रारम्भ गरेको छ ।

झापा जिल्लामा कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगत  मेची प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद अस्पताल सञ्चालनमा छ  ।  त्यस्तै झापाका १५ स्थानीय तह अन्र्तगत  १ सय ४७ नगर अस्पताल र स्वास्थ्य चौकी छन् ।    १५ वटै स्थानीय तहमा र जिल्लामा अस्पताल तथा स्वास्थ्य चौकीको संख्या १४७ वटा छन् ।  

मेचीनगर नगरपालिकामा १६ वटा, बुद्धशान्ति गाउँपालिकामा ८ वटा, अर्जुनधारा नगरपालिकामा १२ वटा, कनकाई नगरपालिकामा ९ वटा, शिवसताक्षी नगरपालिकामा ११ वटा, बिर्तामोड नगरपालिकामा ११ वटा, हल्दीबारी गाउँपािलकामा ६ वटा, भद्रपुर नगरपालिकामा १५ वटा, कचनाकवल गाउँपालिका ८ वटा, कमल गाउँपालिकामा ८ वटा, दमक नगरपालिकामा १३ वटा, गौरादह नगरपालिकामा १० वटा, गौरीगञ्ज गाउँपालिकामा ६ वटा, झापा गाउँपािलकामा ७ वटा, बाह्दशी गाउँपािलकामा ७ वटा गरेर १४७ वटा स्थानीय तहमा सञ्चालित अस्पताल तथा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्याङ्क अधिकृत चुडामणि लुइटेलले जानकारी दिए ।

२०७८ सालको जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० रहेपनि हाल १० लाख वढीको पहुँचमा स्वास्थ्य सेवा पुगेको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्याङ्क अधिकृत लुइटेलको भनाई छ । उनका अनुसार झापामा स्वास्थ्य कार्यालयमा जम्मा २६३ वटा निजि तथा सरकारी स्वास्थ्य संस्थाहरु दर्ता भएका छन् । जस अन्तरगत १४७ वटा सरकारी र ६६ वटा निजि छन् ।

  •  संघीयतापछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा सेवाग्राहीको संख्या वढ्दो

झापाकै पुरानो मध्येको एक मेची प्रादेशिक अस्पताल भद्रपुरमा पनि संघीयतापछि गुणस्तरीय तथा अध्याधुनिक सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको संख्याबढ्दै गएको छ । अस्पतालमा दैनिक सात सयवढीले ओपिडीसहितका सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए ।उनका अनुसार १०३ जनाको दरबन्दी रहेको अस्पतालमा ४५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । २०१५ सालमा १५ शैयाको अस्पतालका रुपमा शुरु हुँदै आएको बताउँदै सूचना अधिकारी पोखरेलले भने ‘२०३३ सालेदेखि पूर्ण क्षमतामा  अस्पताल सञ्चालन भएको हो ।’नयाँ बनिएको अस्पताल भवनमा समस्या देखिएपछि पुनः त्यसको मर्मतसम्भार भएको बताउँदै सुचना अधिकारी पोखरेलले करिव १५ दिन भित्रमै नयाँ भवनबाटै अस्पतालले सेवा प्रदान गर्ने योजना अस्पताल प्रशासनको रहेको बताए ।

naya bhawan

दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा बिभिन्न करारमा नियुक्ती दिएर पनि अस्पतालले कार्य सञ्चालन गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका नायक सुब्वा बशिष्ठ अधिकारीका अनुसार अस्पतालमा २१ जना बिशेषज्ञ चिकित्सको दरबन्दी भएको भएपनि हाल ४ जना दरबन्दी र एक जना करार गरेर ५ जना मात्र बिशेषज्ञ चिकित्सक रहेकाछन् । 

दरबन्दी, बिभिन्न करार गरेर ३६ जना डाक्टरहरु मध्ये १३ जना बिशेषज्ञ र २३ जना मेडिकल अफिसर डाक्टरहरु रहेका नासु अधिकारीले बताए । अस्पतालमा ११ जना दरबन्दीका र एक जना करार गरी स्यायी १२ जना डाक्टर रहेका छन् भने २४ जना डाक्टर करारमा रहेका छन् ।

हाल जम्मा चिकित्सकसहित २६८ जना कर्मचारी रहेको मेची प्रादेशिक अस्पतालमा  दरबन्दी स्वीकृत १०३ मध्ये स्थायी, काज र फाजिल मार्फत ४७ जना, कार्यक्रम करार तर्फ ९० जना, बिकास समिति स्थायीतर्फ १३ जना, बिकास समितितर्फ दैनिक ज्यालादारी ४४ जना, बिकास समिति स्वयमसेवकतर्फ ५ जना, बिकास समिति करारतर्फ ५५ जना र छात्रवृत्ति करारतर्फ १४ जना कार्यरत     रहेको अस्पताल प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

५० शैयाको सञ्चालित अस्पतालमा हाल ११० शैया सञ्चालन रहेको सूचना अधिकारी पोखरेलले बताए । पित्तथैली, हर्निया, एपेन्डिसाइटिसलगायतका रोगको शल्यक्रियासमेत गरिने उक्त अस्पतालमा हाइड्रोसिल र पाठेघर खसेको निःशुल्क शल्यक्रिया हुने गरेको पोखरेलले जानकारी दिए । अस्पतालमा औषधी सेवा, सर्जरी सेवा, हार्डजोर्नी सम्बन्धी सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुती सेवा, सिटी स्क्यान सेवा, २४ सै घण्टा ल्याव र इमरजेन्सी सेवा, फामेसी सेवा, ओसिएमसी सेवा, एआरटी सेवा, ओएसटी सेवालगायत हप्तामा २ पटक साधारण आँखा उपचार गरिदै आएको बताइएको छ । त्यस्तै अस्पतालले स्वास्थ्य बिमा सेवा पनि प्रदान गर्दै आएको छ ।

त्यस्तै ओपिडी सेवा अन्तरगत होमियोपेथिक, अफथाल्मीक, डर्मोटोलोजी, अर्थोपेडिक, न्यूरो, मेडिसन, सजीकल, पीडिअट्रीक, गाइनाक्लोजी, इएनटी र डेन्टलको सेवा प्रदान गरिदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङलगायत बिभिन्न स्थानबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।              

अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ मा ओपोडी सेवा १ लाख ३५ हजार ६३९, इमरजेन्सी सेवा २४ हजार २२ जना र अस्पताल भर्ना भएर सेवा लिने ७ हजार ३३१ जना रहेका छन् । त्यस्तै आर्थिक बर्ष २०७९÷०८० मा १ ओपोडी सेवा १ लाख ४९ हजार ८५ जना, इर्मरजेन्सी सेवा २७ हजार ९५६ जना र अस्पताल भर्ना ८ हजार १५८ जना रहेका छन् ।

अस्पतालले चालु आर्थिक बर्ष २०८०/०८१ को पौष मसान्तसम्मको मात्र तथ्याङ उपलब्ध गराएको छ । जसमा ओपिडी सेवा ५५ हजार ७२ जना, इमरजेन्सी सेवा १० हजार ६४१ जना र भर्ना हुनेको संख्या २ हजार १७३ जना रहेको छ ।

कोशी प्रदेश सरकारकै मातहतको अस्पताल भएकाले यस आर्थिक बर्ष २०८०/०८१ का लागि मात्र कार्यक्रम र ब्यवस्थापन खर्च १७ करोड ५७ लाख रहेको अस्पताल प्रशासनले जनाएको छ । जस अन्तरगत ८ करोड २४ लाख ६४ हजार कार्यक्रम अन्तरगत र सञ्चालन तथा ब्यवस्थापन खर्च अन्तरगत ९ करोड ३२ लाख ४३ हजार रहेको छ । अस्पतालका सूचना अधिकारी पोखरेलका अनुसार अपुग रकम अस्पताल ब्यवस्थापन तथा सञ्चालन समितिले ब्यहोर्ने गरेको छ । कोशी प्रदेश सरकारमार्फत खासै त्यस्तो ठूला उपकरणहरु नआएपनि मेडिसिनलगायतका सामाग्री आउने गरेको सूचना अधिकारी पोखरेलले बताएका छन् । 

त्यस्तै यस चालु आर्थिक बर्षको साउनदेखि जेठ १९ गतेसम्ममा ७ लाख ६१ हजार ८४८ रुपैयाँ बराबर मूल्यको बिभिन्न प्रकारका औषधिहरु कोशी प्रदेश सरकारमार्फत अस्पतालमा आएको सूचना अधिकारी पोखरेले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । 

  • झापाको प्रादेशिक आयुर्वेद अस्पताल र हालको अवस्था

कोशी प्रदेश सरकारको मातहतमा कमल गाउँपालिकास्थित लखनपुरमा करिव २ बर्ष अघिदेखि प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालमा छ । पायल्स, फिस्टुला र फिसर जस्ता रोगको क्षारसुत्र बिधिबाट शल्यक्रिया गरिदै आएको आयुर्वेद अस्पतालमा दैनिक ५० देखि ७० बिरामी आउने गरेका अस्पतालका सूचना अधिकारी अविकेशर सिग्देलले जानकारी दिए । उक्त आयुर्वेद अस्पतामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट बिरामी आउने गरेका छन् । ५० शैयाको उक्त अस्पतालमा सामान्य एक्सरे नभएका कारण बिमा सञ्चालन गर्न नसकेको सूचना अधिकारी सिग्देलले बताएका छन् ।

बिभिन्न दाताहरुले २ बिगाहा एकधुर जग्गा अस्पतालका लागि प्रदान गरेपछि संघीय सरकारले भौतिक संरचना निर्माण गरेको अस्पताल कोशी प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयको मातहतमा सञ्चालनमा छ । १९ जनाको दरबन्दी रहेको प्रादेशिक अस्पतालमा केही कर्मचारीको संख्या बढाउन सके अन्य सेवासँगै छिटो र छरितो तरिकाले सेवा दिन सकिने अस्पतालका सूचना अधिकारी सिग्देलले बताएका छन् ।

अस्पतालमा ओपिडी सेवा, क्षारसुत्रबाट शल्यक्रिया, पञ्चकर्म सेवा, भिडियो एक्सरे, ल्याव सेवा, निःशुल्क औषधि बितरणलगायतका सेवा दिइदै आएको बताइएको छ ।

  • प्रदेश सरकारमार्फत स्वास्थ्य कार्यालय झापाले गर्दै आएको कार्य

स्वास्थ्य कार्यालय झापामार्फत पनि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आर्थिक बर्ष ०८०/०८१ मा स्वास्थ्य कार्यालय मार्फत जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन, प्रादेशिक एम्बुलेन्स तथा अस्पताल ब्यवस्थापन, जिल्ला स्तरमा आरआरटि बैठक तथा समिक्षा, नसर्ने रोग रोकथाम कार्यक्रम, बिद्यालय नसिङ कार्यक्रम स्थानीय सरोकारवालासँग समन्वयमा कुपोषित बालबालिका स्क्रीनिङ कार्यक्रमलगायतका अन्य थुप्रै कार्यक्रम एक करोड ७५ लाख ४३ हजार रुपैयाँको कार्यक्रम गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आर्थिक बर्ष ०७९/०८० मा १ करोड ५५ लाख ५३ हजारको बिभिन्न कार्यक्रम गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

swasthiya karyalaya

१४ जनाको स्वीकृत दरबन्दी रहेको स्वास्थ्य कार्यालय झापामा छात्तबृत्ति, करार र काज गरेर २० जना कर्मचारी भएको कार्यालयले जनाएको छ । त्यस्तै कोशी प्रदेश सरकारले स्वास्थ्य कार्यालय झापामार्फत हालसालै झापाका गर्भवती तथा सुत्केरी महिलाका लागि पौष्टिक पिठो उपलब्ध गराएको छ ।

तीन महिनाको गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले ३० हजार नौ सय २० केजी पौष्टिक पिठो उपलब्ध गराएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

आमा र बच्चालाई आवश्यक पौष्टिक तत्व परिपूर्ति गरी उनीहरुको स्वास्थ्य सुधार गर्न प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो । आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलाका लागि यो कार्यक्रम ल्याएको हो ।

पौष्टिक पिठोमा विभिन्न १५ प्रकारका भिटामिन र मिनिरल्स मिसिएको छ । जसले गर्भवती र सुत्केरीलाई आवश्यक पौष्टिक तत्व सहजै प्राप्त हुने स्वास्थ्य कार्यालयले झापाले जनाएको छ । एक सय ग्राम पिठोको उपयभोगबाट ४१० क्यालोरी र आवश्यक पोषकतत्व प्राप्त हुने श्रेष्ठले बताए ।

पौष्टिक पिठो निःशुल्क वितरणका लागि जिल्लाका १५ वटै पालिकामा पठाइएको छ । सम्बन्धित पालिकाले स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने जनाइएको छ ।

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्ने कार्य र हालको अवस्था

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद विधिबाट गरिने सवै सेवा दिदै आएको छ ।

झापाको भद्रपुर –१० मा रहेको केन्द्रले बिरामी परीक्षण तथा परामर्श सेवा, निशुल्क औषधी वितरण, पायल्स र फिस्टुलाको क्षारसुत्र बिधिबाट उपचार दिदै आएको छ ।

 त्यस्तै पञ्चकर्म चिकित्सा, सहायक कर्म, पिचु, पूर्वकर्महरु फिजियोथेरापी सेवा, प्राकृतिक चिकित्सा सेवा, प्याथोलोजी सेवा र सशुल्क फार्मेसी सेवा दिदै आएको छ । केन्द्रले वाथ, ग्याष्ट्रिक, दम, रुघाखोकी, प्यारालाइसिस पायल्स, फिस्टुला, फिसर जस्ता रोगको पनि क्षारसुत्र विधिबाट उपचार साथै अप्रेशन गरिने केन्द्रका डा.अनिलकुमार यादवले जानकारी दिए । केन्द्रमा दैनिक ३० देखि ५० जना बिरामीहरु आउने गरेको उनले बताए ।

aaurbed hospital

केन्द्रको मातहतमा झापाका ६ वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा दिदै आएको डा. याबले बताए । कचनाकवल, बिर्तामोड, कनकाई, हल्दीबारी, दमक र गौरीगञ्जमा नसर्ने रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना मुलक कार्यक्रम गर्न आरोग्य सेवा दिदै आएको डा. यादवले जानकारी दिए । आरोग्य सेवा अन्तरगत टोल, समुदाय, गाउँ, वडा र नगरमा मानिसको दिनचर्या र खानपिनका बारेमा सुचित गराउँदै सामान्य जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरिने गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सरकारमार्फत ६३ लाख ८४ अजार रकम आएको डा. यादबले बताए । ‘धैरै जसो बिरामी अन्य अस्पतालमा उपचार गराए पार नलागेपछि मात्र आयुर्वेद अस्पताल आउछन्’ डा. यादले भने ‘भएको पैसा अन्य अस्पतालहरुमा सकिएपछि मात्र आयुर्वेद अस्पताल सम्झिन्छन् ।’ त्यतीवेलासम्म रोग पनि भयावह अवस्थामा पुगेको हुने र सामान्य उपचारले ठीक नहुनेउनले बताए ।

  • बालबालिकाका लागि दमकमा किवक चिल्डे«न

झापाको दमकमा कोशी प्रदेश सरकारको पनि सहयोगमा बालबालिकाका लागि काठमाडौं इन्स्च्यूट अफ चाइल्ड हेल्थ (केआईओसिएच) अन्तरगतको किवक चिल्डे«न हस्पिटल एक बर्षदेखि सञ्चालनमा रहेको छ । उक्त अस्पतालमा झापासहित मोरङ, सुनसरी, ताप्लेजुङ, तेह«थुम, पाँचथर, इलाम, उदयपुरलगायतका जिल्लाबाट उपचारका लागि बालबालिका आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. जयमणि श्रेष्ठले जानकारी दिए ।

सामुदायिक तथा गैर नाफामुखी अस्पतालको रुपमा सञ्चालनमा आएको उक्त अस्पतालमा कोशी प्रदेश सरकारको ठूलो सहयोग रहेको डा. श्रेष्ठले बताएका छन् ।

दमक नगरपालिका वडा नम्बर ७ मा सञ्चालनमा रहेको अस्पताल ५० शैयाको छ ।  अस्पतालमा पाँच जना बालबालिकाका बिशेषज्ञ चिकित्सकहरुले सेवा दिदै आएको डा. श्रेष्ठले जानकारी दिए । बालबालिकालाई न्युनतम शुल्कमा उपचार गरिदै आएको अस्पतालमा वेड शुल्क तीन सय र ओपिडी सेवा एक सय रुपैयाँ मात्र रहेको छ ।

२५ करोड रुपैयाँका लागानीमा सञ्चालनमा आएको उक्त अस्पतालमा करिव २÷३ करोड प्रदेश सरकारले पनि सहयोग गरेको डा. श्रेष्ठले बताए ।

नेपालको संविधान, २०७२ बमोजिम देशलाई संघीय ढाँचामा पुनर्संरचना गर्ने उद्देश्यका साथ वर्तमान संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए अनुरूप प्रदेश नं.१ मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार २०७४ फागुन ३ गते भएको हो । प्रदेश संरचनाको स्थापना कालमा गठन भएको ७ वटा मन्त्रालय मध्ये सामाजिक विकास मन्त्रालय विभाजन भएर २०७८ माघ २३ गते स्वास्थ्य मन्त्रालयको स्थापना भएको हो ।

स्वास्थ्य मन्त्रालय मातहत स्थायी प्रकृतिका  प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय÷स्वास्थ्य केन्द्रहरु गरी ४६ वटा कार्यालयहर रहेका छन्  भने अस्थायी प्रकृतिका १/१ वटा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र, विराटनगर र कोशी अस्पताल कोभिड–१९  उपचार केन्द्र, विराटनगर  रहेका  छन् ।

  •  सेवाग्राहीको भनाई यस्तो छ

मेची प्रादेशिक अस्पतालमा औषधि लिन आएका बिर्तामोड–९ का तुलसीराम प्रसाईले अस्पतालका कर्मचारीहरुले दुःख दिएको गुनासो गरे । सुगर र कोल्डस्टोर भएर अस्पतालमा औषधी लिन गएका प्रसाईले कर्मचारीले घरी यता घरी उजा भनेर दिक्क दिइरहेको बताए । ‘सरकारी अस्पतालमा पनि सेवा राम्रो छ भनेको सुनेर आएको थिए’ प्रसाइले भने ‘तर, सेवा त खतम रहेछ ।’ केही मात्रामा अध्याधुनिक उपकरण अस्पतालमा थप भएपनि सेवाग्राहीका लागि पुरानै परिपाटी भएको उनले गुनासो गरे ।

अर्का सामान्य बिरामी भएर अस्पताल आएका भद्रपुर १ पृथ्बीनगरका जीवन लिम्बुले सरकारी अस्पतालमा एकदिनमा काम नहुने भएकाले एकछिनको कामको लागि पटक पटक गरेर २/३ दिन धाउनु पर्ने बाध्यता रहेको बताए ।

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य विमा सेवा अन्तरगत औषधी लिन गएकी भद्रपुरकी माया राउतले सरकारले ११२८ प्रकारको औषधी निःशुल्क भनेपनि अस्पतालमा लिन आउँदा नपाइने गरेको गुनासो गरिन् । ‘सरकारले निःशुल्क भनेको छ’ सेवाग्राही राउतले भनिन् ‘अस्पतालमा नभेटिएपछि बाहिर महँगो मूल्यमा किन्नुपर्छ ।’

झापा स्वास्थ्यको हवका रुपमा विकास हुँदै गएपनि निजि अस्पतालमा छिटो सेवा पाउने भएकाले पनि सेवाग्राहीहरु निजि अस्तालमै सेवा लिन जाने गरेका छन् । संघीयतासँगै स्वास्थ्य क्षेत्रसहित स्वास्थ्य संस्थाको विकास भएपनि अफै पनि कतिपय गरिव तथा बिपन्न समुदायसम्म स्वास्थ्य सेवा पुग्न सकेको देखिदैन । जनचेतनाको कमी वा आर्थिक विपन्नताका कारण पनि बिपन्न समुदायमा सरकारले सोचे जस्तो स्वास्थ्य क्षेत्रमा प्रगति गर्नसकेको देखिदैन ।

आर्थिक अवस्थाका तथा गरिबीका कारण कतिपय निजि अस्पताल जान नै डराउनु पर्ने अवस्था छ भने सरकारी अस्पतालमा सरकारले निःशुल्क वितरण गर्ने औषधि नपाइने र एकदमै ढिलो सेवा पाउने भएकाले पनि सेवाग्राहीहरु दुखी हुने गरेका छन्  । स्वानीयह तहमा सञ्चालिलत अस्पताल तथा स्वास्थ्य चौकीमा सेवाग्राहीले छिटो छरितो रुपमै सेवा पाएपनि सरकारको मातहतमा रहेका सेवा दिने कार्यमा समस्या देखिने गरेको छ ।

सरकारी अस्पतालमा भने जस्तो उपचार नहुने ठूला निजि अस्पतालमा खर्च धेरै हुने भएकाले पनि विपन्न समुदायका बिरामीहरु अस्पताल जान नसकेर घरमै रोग पालेर बस्न बाध्य हुने गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा तीनै तहका सरकारले पिछडिएका तथा अतिविपन्न समुदायमा जनचेतनामुलक कार्यक्रम गरेर सरकारी स्वास्थ्य संस्थाहरुमा छिटो छरितो सेवाका साथै अत्याधुनिक उपकरणका साथमा गुणस्तरीय सेवा प्रदान गर्न सके सवैको स्वास्थ्यमा पहुँच पुग्ने देखिन्छ ।