झापा । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित सबै संस्थाको नवीकरण शुरु गरेको छ । विभागले एक सूचना जारी गरी म्यानपावर कम्पनीसहित घरेलु कामदार तालिम प्रदायक, केयरगिभर तालिम प्रदायक र सीपमूलक तालिम प्रदायक संस्था र अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई नवीकरणका लागि तोकिएको दस्तुरसहित निवेदन दिन आह्नान गरेको छ । विभागले नवीकरण अनलाइनमार्फत हुने बताएको छ ।

विभागले आगामी आर्थिक वर्षको नवीकरणका लागि म्यानपावर कम्पनीहरुले आर्थिक वर्ष २०७९/०८० मा पूर्व तथा अन्तिम श्रम स्वीकृतिको संख्या, कामदार उडाएको संख्या, अन्तिम श्रम स्वीकृति लिएर उडाउन बाँकी संख्या, २०८२ साउन मसान्तसम्मको बैंक ग्यारेन्टी र कार्यालयको पूरा ठेगाना पेस गर्न भनेको छ ।

त्यसैगरी विभागले नवीकरणका लागि नवीकरण दस्तुर दश हजार रुपैयाँ जम्मा गरेको भौचरसहित सञ्चालक समितिको निर्णयसहित आर्थिक वर्ष २०७९/०८० को कम्पनी अद्यावधिक, करचुक्ता, शेयर लगत, आर्थिक वर्ष २०८०/०८१ मा सय जना कामदार पठाएको प्रमाण पेस गर्न भनेको छ । हाल दर्ता रहेकामध्ये असार मसान्तसम्ममा ८ सय व्यवसायीले तोकिएको संख्या सय पुर्‍याउने र करिब दुई सयको संख्या नपुग्ने विश्लेषण व्यवसायीले गरेका छन् । 

उनीहरुले नवीकरणका लागि सय संख्या अनावश्यक भन्दै यसअघि जस्तै वैदेशिक रोजगार ऐनको दफा ८२ प्रयोग गरी मन्त्रिपरिषद्ले बाधा अड्काउ आदेश जारी गरी सबै व्यवसायीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ध्यानाकर्षण गराइरहेका छन् ।