झापा ।
बैदेशिक रोजगारीमा पठाउने सिलसिलामा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौंको टोखा नगरपालिका– ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका– २८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरकी संचालक सिरहाको सिरहा नगरपालिका– ७ घर भई काठमाडौं– २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको हो।
मधुले रोमानिया पठाइदिने भन्दै तीन जना पीडितहरूबाट ७ लाख, गीताले यूके पठाइदिने भन्दै ८ जना पीडितबाट १६ लाख ५ हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको बताइएको छ ।
त्यस्तै, प्रहरीले वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा थप १ जनालाई पनि पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका– ४ का ४५ वर्षीय विष्णु लोप्चनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप छ । लोप्चनलाई पनि थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

















