झापा । 

अध्यागमन कार्यालयकै मिलेमतोमा  मानव तस्करी हुने गरेको खुलेको छ । अध्यागमन विभागमा खटिएका सरकारी कर्मचारीकै मिलेमतो र सेटिङमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नक्कली कागजातका आधारमा सेटिङमा भिजिट भिसा मिलाएर व्यक्तिहरूलाई विदेश पठाइने गरेको खुलेको हो ।  सरकारी कर्मचारीभित्रै मानव तस्करीमा संलग्न गिरोहसँगको साँठगाँठ हुने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यागमन विभागमा छापा मारेको थियो ।

आयोगले छापा मारेर विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई र विभागका कागजातसमेत नियन्त्रणमा लिएको जनाएको छ । उनलाई गृह मन्त्रालयले मंगलबार मात्र विमानस्थल अध्यागमनबाट मन्त्रालय तानेको थियो । सह–सचिव भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौं रुपैयाँ उठाएको सूचना आएको थियो ।

पछिल्लो समय यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रति व्यक्तिसम्म संकलन गर्ने गरिएको थियो भने युरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको खुलेको अख्तियारका एक अधिकारीले बताए ।अझै थप अनुसन्धान बाँकी रहेकाले पूर्ण सूचना नआउँदासम्म सबै कुरा सार्वजनिक गर्ने अवस्था नरहेको उनले बताए  । 

अनुसन्धानका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई भिजिट भिसा मिलाएर विदेश पठाइने गरेको खुलेको हो । अनुसन्धानका क्रममा अख्तियारले अध्यागमनका अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको जनाएको छ । उनीहरूलाई तस्करीको साँठगाँठको आशंकामा अनुसन्धान थालिएको आयोग स्रोतले जनाएको छ ।

छानबिनका क्रममा भट्टराईको मोबाइल फोन जफत गरिएको र कार्यालयबाट केही महत्त्वपूर्ण कागजात पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।  मोबाइलमार्फत उनको मानव तस्कर गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्युटी हुने भएकाले ३ समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको छ ।