बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज (सोमवार) एक अर्ब ५१ करोड ८३ लाख ८२ हजार बरावरको बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

 बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा भइरहेका विकास योजनालाई निरन्तरता दिदै थप विकास योजनाका कार्यक्रम अघि बढाइने उल्लेख छ ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, उद्योग, महिला वालवालिका, पूर्वाधार, ज्येष्ठ नागरिक, अपाङ्गता तथा लक्षितवर्ग, खेलकुद, पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा २२३ वटा बुँदा समेटिएका छन् ।

नगरेको दोस्रो नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा नगरको आन्तरिक आय र संघ तथा प्रदेशले प्रदान गर्ने सशर्त र समानीकरण अनुदानलाई समावेश गरिएको छ ।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, नगरपालिकाका वडाध्यक्ष, कार्यापालिका सदस्यसहित जनप्रतिनिधि, कर्मचारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।