सुरुङ्गा । 

पूर्वकै गौरवका रुपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कनकाई धाममा बोलबम लक्षित कार्यक्रम हुने भएको छ । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको हो ।

कनकाई धाम धार्मिक विकास संस्थाले श्रावण महिनाको विषेश अवसरमा रुद्राभिषेक तथा पूजाआर्चना कार्यक्रम गर्न लागेको धाम परिसरमा आज (बिहीवार) पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । 

कनकेश्वर महादेवको पवित्र मन्दिर रहेको कनकाई धामले नेपाल, भारत, भुटान लगायत देश–विदेशका श्रद्धालु भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभूति गराउँदै आएको धामकका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । उनले यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको बताए । 

पवित्र कनकाई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण गर्ने, ब्राह्मण तथा बटुकहरुद्वारा वैदिक विधिमा रुद्राभिषेक, रुद्री पाठ, हवन तथा विशेष पूजन गरिने, साँझ ६ बजे कनकाई आरती तथा प्रसाद वितरण गरिने, स्थानीय कलाकार तथा भजन मण्डलीद्वारा भजन–कीर्तन, कार्यक्रम अवधिभर शिव स्तुति तथा मन्त्रोच्चारण गरिने कार्यक्रम रहेको धामका उपाध्यक्ष तथा कार्यक्रम संयोजक  प्रकाश थापाले जानकारी दिए ।

त्यस्तै, स्वयम्सेवकमार्फत भक्तजनको सुरक्षाको व्यवस्था, पिउने पानी र मन्दिर सरसफाइ लगायतका कार्य गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष पूजामा कर्ताका रुपमा सहभागी बन्न इच्छुक श्रद्धालु भक्तजनहरुले संस्थाका अध्यक्ष शेरबहादुर थापा र कार्यक्रम संयोजक  प्रकाश थापा वा कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने धामले जनाएको छ ।

कार्यक्रममा धामका सल्लाहकार सदस्य चन्द्र मैनाली भतिजले गत वर्ष झैं त्यसवर्ष पनि बोलबमको अवसरमा भव्य रुपमा धार्मिक अनुष्ठानहरु गरिने बताए । धामको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भक्तजन भित्र्उन सर्वपक्ष पहल आवश्यक रहेको उल्लेख गरे । श्रावणी पर्वको अवसरमा विशेष भजन कीर्तनको आयोजना गरिने  उनको भनाई थियो । 

स्वागत गर्दै धामका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाले भगवान शिवको प्रिय महिनाको रुपमा रहेको साउन महिनामा विशेष पूजा आर्चना गर्न लागिएको बताए । 

धामका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चन्द्र मैनाली (भतिज) ले धाम सवैको साझा भएको सवैले सहयोग गर्नु पर्ने बताए । यो पर्व ५०–६० हजारवढी भक्तजनहरूले कोटि होमको दर्शन गर्ने आयोजकले अनुमान गरेको छ । 

पत्रकार सम्मेलनमा धामकी पर्यटन उपाध्यक्ष अम्बिकादेवी खरेल, महासचिव दिनानाथ खतिवडा, सचिव यामनाथ खतिवडा, कोषाध्यक्ष मानबहादुर पौडेललगायत पदाधिकारी तथा सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रमको  सञ्चालन कार्यसमिति सदस्य धनपति चापागाईंले गरेका थिए ।