हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले पाँच जना उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पालिकाले आज (मंगलबार) एक समारोहका बिच नगदसहित सम्मान गरेको हो ।
सम्मानीत हुनेमा हल्दीबारी–२ की मोनिका तामाङ (बंगुरपालन), हल्दीबारी–३ रत्नबहादुर भारती (गाईभैंसी पालन), हल्दीबारी–३ कि गोमा गौतम (घाँसखेती), हल्दीबारी–४ का बिष्णुप्रसाद भण्डारी (खाद्यन्नवाली) र हल्दीबारी–४ का लयप्रसाद पाठक (तरकारीबाली) छन् ।
उनीहरुलाई हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, कृषि शाखा प्रमुख छविलाल गुरुङलगायतले सम्मान गरेका हुन् ।
पालिकाले विभिन्न विधामा रहेर कृषि पेशामा संलग्न कृषकहरूबाट उत्कृष्ट कृषक पुरस्कार लिनका लागि आवश्यक मापदण्डसहित सुचना जारी गरेर पालिकाले निवेदन माग गरेको थियो । पालिकाले उक्त निवेदन र मापदण्डका आधारमा उत्कृष्ट कृषक छनौट गरेर प्रति व्यक्ति नगद १० हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरेको हो ।
पालिकाले खाद्यान्न बाली, तेलहन बाली, तरकारी बाली, फलफूल बाली, च्याउ खेती÷मौरी पालन, बाख्रापालन, बगुरपालन, गाईभैंसी पालन, कुखुरा/हाँस/मत्स्यपालन, घाँस खेती गरी १० वटा बिधाका लागि पुरस्कारको निवेदन आव्हान गरेको थियो । जसमा तेलहनबाली, मौरी/च्याउ र बाख्रा पालनमा निवेदन परेको थिएन भने कुखुरा/हाँस पालन र फलफूलबालीमा परेको निवेदनमा मापदण्ड नपुगेको बताइएको छ ।


















