झापा । 

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी नाग वा सर्पको पूजा गरेर मनाइँदैछ । आज बिहानै उठेर स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवैतर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्ने परम्परा छ । नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

भाद्र, असोज र कार्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ । आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झेर पूजा गर्नु पर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेटसम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेटसम्म अमृत बेला रहेकोले यो  समयमा नाग टाँस्नु शुभ मानिन्छ ।  

परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरी सूर्यास्त भएपछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरू जस्तै फूल, प्रसाद तथा फलले पूजा आजा गरी प्रसाद बाढ्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिका साथ मनाइने यो पर्व हिन्दुधर्मावलम्बिहरुले धूमधामका साथ मनाउने गर्दछन् ।