शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाका अपाङ्गता भएका तीन सय १९ जना व्यक्तिहरुलाई तीन सय ६८ थान सहायता सामाग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको माग र आवश्यकता अनुसार सामाग्री वितरण गरिएको नगरले जनाएको छ । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगर र करुणा फाउडेशन नेपालको त्रिपक्षिय लागत साझेदारीमा आज (विहीवार) सामाग्री वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको प्राविधिक साझेदारीमा सञ्चालित कार्यक्रम अन्तरगत सामाग्री वितरण गरिएको छ । 

apanga 1

नगरकी उप–प्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि वितरण गरिएको सहयता सामाग्रीको हिफाजत गर्न आग्रह गरे । उनले नगरको स्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको हाल त्रिपक्षिय साझेदारी गरेर गर्दै गरेको बताउँदै आगामी दिनमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । 

स्वागत अर्जुनधारा–३ का वडाध्यक्ष सिताराम भट्टराईले गरेको कार्यक्रममा नगरमा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र वास्तोला, वडा नम्बर ७ का वडाध्यक्ष गोविन्द खतिवडा, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नगरकी महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा कार्यक्रमकी फोकल पर्सन सूर्यमाला पन्दाकले गरेकी थिइन् ।

नगरपालिकामा आज (बिहीवार) संक्षिप्त कार्यक्रमको आयोजना गरी ह्वील चियर, ट्राईपोट, वाकर, क्यान, क्रच, एल्बो क्रच, सीपी ह्वील चियर, ट्वाइलेट चियर, स्टीक, हेरिङ एड, कृतिम हातखुट्टा, मोडिफाई सुजलगायतका सामाग्री वितरण गरिएको करुणा फाण्डेशन अर्जुनधारा नगरपालिकाका संयोजक सुरेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार उक्त सामाग्री बिहीवार र शुक्रवार वितरण गरिनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई २८ लाख ३९ हजार रुपैयाँ बराबरको सहायता सामाग्री वितरण गरिएको कार्यक्रमकी फोकल पर्सन सूर्यमाला पन्दाकले जानकारी दिएकी छिन् ।