बिर्तामोड ।

 भगवान श्रीकृष्णको जन्मदिनको अवसर पारेर  बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा सम्पन्न भएको छ । श्री राधा माधव भजनस्थलीले आयोजना गरेको श्री कृष्ण जन्माष्टमी २०८२ अन्तरगत विभिन्न कार्यक्रम गरेर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको हो ।

शनिवार बिहान ७ः३० बजेबाट शुरु भएको राधा कृष्णको कथा तथा प्रवचन सहित भजन कीर्तन गर्दै भवन परिसरमा सयौं भक्तजनको उपस्थितिमा अवेर रातिसम्म भगवान श्रीकृष्णको गाथा गाएर कृष्ण जन्मोत्सव मनाइएको थियो ।  

विभिन्न संघ संस्थाका प्रतिनिधि र सयौं भक्तजनको उल्लेख्य उपस्थितिले अग्रसेन परिसर गुञ्जयमान बनेको थियो । भगवान श्रीकृष्णको जीवन लीलालाई प्रस्तुत गर्दै आएका भक्तजनलाई निःशुल्क महाप्रसाद समेत बितरण गरिएको थियो ।

राति ७ः३० वजेदेखि भजन गायक राजु अधिकारी र रोशन अधिकारीले भगवन श्री कृष्ण र राधाका भजन प्रस्तुत गर्दै भक्तजनलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । श्रीकृष्ण जन्माष्टमी महाउत्सव नाम दिएर पहिलो पटक आयोजना गरिएको महाअष्टमीमा विभिन्न बम्हाचारी महाराजहरुले विशेष प्रवचन दिएका थिए ।

श्रीकृष्ण जन्माष्टमी महामहोत्सवमा भक्ति सिद्धान्त दास ब्रम्हाचारी, शिद्ध स्वरुप दास बम्ह्राचारी, मनः शिक्षा दास बम्हाचारी, शान्ति दाता माधव दास, विनी माता लगायतले कृष्ण कथा तथा प्रवचन भक्तहरु माझ प्रस्तुत गरेका थिए । सो अवसरमा हिन्दू धर्मालम्बीहरुको प्रमुख ग्रन्थ भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा भक्तजनालाई जानकारी दिएको थियो ।

भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा भजनस्थलीले हरेकृष्ण अभियानसमेत सञ्चालन गरिएको भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त दास ब्रम्हाचारीले जानकारी दिए । सो अवसरमा नेपाल र भारतको पश्चिम वंगाल तथा विराह राज्यका विभिन्न स्थानबाट भक्तजनको उल्लेख्य सहभागीता थियो ।

 यसैबीच श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर बिर्तामोडमा आयोजित श्री कृष्ण जन्माष्टमी महामहोत्सवमा इलाम झापा मैत्री समाज र लायन्स क्लव अफ बिर्तामोड लेडीले निःशुल्क रुपमा पानी तथा मोहीको वितरण गरेका थिए । लायन्स लेडीले पानी र इलाम झापा मैत्री समाजले मोही निःशुल्क रुपमा बितरण गरेका थिए  ।  उनीहरुले छुट्टा छुट्टै स्टल राखेर सहभागी भक्तजनलाई सेवा प्रदान गरेका थिए । 

महा महोत्सवमा सहभागीलाई निःशुल्क रुपमा भण्डारा सञ्चालन गर्दै महाप्रसादसमेत वितरण गरिएको थियो । साँझ कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।