झापा  । 

आज भाद्रकृष्ण औँसीका दिन कुशे औँसी पर्व मनाइँदैछ । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औंसी मनाइँदैछ । 

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने पनि गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

यसैगरी राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।