झापा ।
वैदेशिक रोजगारीमा जाने कामदारको भिसा प्रक्रियामा अनावश्यक झन्झट खडा गरेर अनुचित रूपमा शुल्क उठाउने गरेको गुनासो बढेको छ । काठमाडौंको थापाथलीमा रहेको साउदी भिसा सेवा केन्द्र ‘तसिर’बाट वैदेशिक रोजगारमा साउदी अरेबिया जाने कामदारको बायोमेट्रिक शुल्क सात सय भएपनि बायोमेट्रिकका लागि तोकिएको समयमा नआएको भन्दै चार दोब्बरसम्म शुल्क लिएर विपन्न अवस्थामा रहेका कामदारको शोषण गरिएको वैदेशिक रोजगार व्यवसायीले गुनासो गरेका छन् ।
साउदी अरब जाने सबै प्रकारका भिसाका लागि आवश्यक प्रक्रिया २४ घण्टाभित्रै पूरा हुने नेपालस्थित साउदी दूतावासले जनाएको छ । तर, कतिपय व्यवसायीले भिसा सेन्टरले सीमित संख्यामा मात्रा कामदारको बायोमेट्रिक गर्ने भएकाले ढिलाइका साथै अनावश्यक रूपमा खर्चिलो हुने टिप्पणी गरेका छन् ।
उक्त केन्द्रबाट सिस्टम बिग्रिएको भन्ने बहाना बनाउँदै काम रेक्ने र सेटिङमा चार गुणासम्म बढी रकम लिएर लुट्ने गरिएको एक व्यवसासीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । साउदी भिसा सेन्टरले नेपाली कामदारको बायोमेट्रिक फिंगरप्रिन्ट कार्य साढे चार अमेरिकी डलरमा गरिने बताएको छ । तर वैदेशिक रोजगार व्यवसायीहरूले समयको अनिश्चितताका कारण बायोमेट्रिकका नाममा कामदारको २५ हजार रुपैयाँसम्म खर्च हुने दाबी गरेका छन् ।
साउदीमा हाल मासिक १० हजारभन्दा बढी नेपाली कामदार वैदशिक रोजगारीमा जाने गरेका छन् । साउदीबाट घरबिदामा आएका कामदारले साउदी फर्किँदासमेत केन्द्रमार्फत बायोमेट्रिकलगायतका अन्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । तर साउदी कामदार पठाउने व्यवसायीले भने कामदारको बायोमेट्रिक लिने नाममा तोकिएको समय ‘एप्वाइन्टमेन्ट टाइम’मा नआएको भनेर मनपरी शुल्क उठाउने गरिएको बताएका छन् ।
सानातिना समस्यामा दूतावासले परिचयपत्र (साउदी आइडी) रोक्ने, तर कामदारको बायोमेट्रिक गर्न म्यानपावर कम्पनीको साउदी आइडी अनिवार्य गर्दा थप समस्या परेको कतिपय व्यवसायीको भनाइ छ ।


















