झापा ।

 साउदीमा आठ जना नेपालीले आममाफी पाएका छन् । साउदी अरबका विभिन्न जेलमा कैद भोगिरहेका आठ जना नेपाली नागरिकलाई साउदी अरेबिया सरकारले आममाफी दिएको छ ।

आममाफी पाउने नेपालीहरूमा प्रकाश विष्ट, राजेश बुढा मगर, जय बीसी, हर्कदबहादुर कार्की, यमबहादुर थापा, ध्यानबहादुर राई, पवन गुरुङ र पेम्बा रहेका साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । 

स्रोतका अनुसार हाल साउदी अरबका विभिन्न जेलमा करिब ६ सय नेपाली रहेका छन् । सामान्य मुद्दा वा सजाय कम भएकाहरूलाई समय–समयमा साउदी सरकारले आममाफी दिने गरेको भएपनि अझै धेरै नेपालीले कठिन परिस्थिति भोगिरहेको बताइएको छ ।

आममाफी पाएका नेपालीहरूलाई आवश्यक कागजी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काउने तयारी भइरहेको जेद्दा महावाणिज्यदूतावासले जनाएको छ ।  साउदी अरेबियामा करिब ४ लाख नेपाली कार्यरत रहेका छन् ।