झापा ।
नेपाल सरकार र कोरिया सरकारबीच उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको हो ।
यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताइएको छ ।
हाल इपिएसमार्फत हुने भाषा परीक्षामा उत्तीर्ण हुने ४० हजारभन्दा बढी नेपाली कामदार दक्षिण कोरिया पुगेको इपिएस शाखाले जनाएको छ । श्रम मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० जारी गरी निजी क्षेत्रमार्फत श्रमिक पठाउने बाटो खोलेको छ ।
कोरिया सरकारले नेपालमा इपिएस कार्यक्रम सञ्चालन गरी नेपाली युवाहरूलाई रोजगारीका लागि भर्ना गर्ने गरेको छ । बुधबार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संशाधन विभागको प्रतिनिधिमण्डलसँग भएको छलफलमा विस्तारै निजी तालिम प्रदायक संस्थाहरूलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालनका लागि आधार तयार गरिने बताइएको छ ।


















