झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अनुगमनका नाममा व्यवसाय सञ्चालनमा अन्योल सिर्जना नगर्न आग्रह गरेको छ । संघले व्यवसायीहरुलाई अनुगमनाका नाममा अन्यौल सिर्जना नगर्न आग्रह गर्दै वैदेशिक रोजगार विभागमा ध्यानाकर्षण गराएको छ ।

वैदेशिक रोजगार व्यवसायीका कार्यालयमा केही समय यता अस्वाभाविक रूपमा अनुगमनका गतिविधि बढेको व्यवसायीको गुनासो बढेपछि संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा संघ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली बिहीबार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेट्न ताहाचलस्थित विभाग पुगेको थियो । 

संघका अध्यक्ष गुरुङले चाडपर्वको अवसरमा गलत सन्देश जाने गरी अनुगमन नगर्न महानिर्देशक भट्टराईलाई संघका तर्फबाट ध्यानाकर्षण गराइएको बताए ।  व्यसयाीले विभिन्न खालका समस्याबाट बाहिर निस्केर भर्खरै काम सुरु गर्न थालेको बताउँदै यस्तो अवस्थामा समाजमा गलत सन्देश जाने गरी काम कारबाही नहोस भन्न्े  संघको सरोकार भएको महानिर्देशकसमक्ष जानकारी गराएका थिए । 

चाडपर्वका अवसरमा कतिपय व्यक्तिले समेत विभागका कर्मचारीको नक्कली परिचयपत्र बनाएर कार्यालय प्रवेश गर्ने र अनुगमनका नाममा मोलमोलाइ गर्ने गरेको व्यवसायीहरूको भनाइ छ । वैदेशिक रोजगार ऐनको दफा ३४ ले विभागलाई ऐन, नियम वा ऐनअन्तर्गत दिइएको निर्देशनको पालना गरे/नगरेको सम्बन्धमा समय–समयमा म्यानपावर कम्पनीको कार्यालयमा अनुगमन तथा निरीक्षण गर्ने अधिकार दिएको छ । अनुगमनका क्रममा विभागले म्यानपावर कम्पनीले राखेको अभिलेख तथा अन्य सम्बन्धित कागजातहरू निरीक्षण गर्न सक्ने व्यवस्था छ ।

संघको भनाइ सुनेपछि महानिर्देशक भट्टराईले कसैलाई व्यक्तिगत आग्रह पूर्वाग्रहका आधारमा नभई उजुरी वा गुनासो परेको र गुनासोमा छलफल गर्न व्यवसायीले अटेर गरे अनुगमन गरिने बताएको सहभागी एक व्यवसायीले जानकारी दिए ।