झापा । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी भएका एक नेपाली पक्राउपछि नेपाल ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि भन्दै चुपचाप सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–२ का कृष्ण सुनार गत साता कुवेतमा पक्राउ परेका थिए ।

 कुवेतमा पक्राउ परेका सुनारका सम्बन्धमा नेपालमा खासै सार्वजनिक चासो देखिएपनि कुवेतमा भने सुनार पक्राउ परेको विषयलाई महत्वका साथ प्रचारप्रसार गरिएको छ । सुनारलाई ‘वैदेशिक रोजगार र मानव बेचबिखन तस्करीको मुख्य नाइके’ भनेर उल्लेख गरिएको छ ।  कुवेतको गृह मन्त्रालयले सञ्चालन गरेको एक उच्च जोखिमयुक्त अपरेसनमा सुनार पक्राउ परेको उल्लेख छ । मानव बेचबिखन र आप्रवासी तस्करीको धन्दामा लामो समयदेखि कुवेतमा चुपचाप बसेर कारोबार गरेका सुनार पक्राउ परेपछि अँध्यारो चित्र सार्वजनिक भएको टिप्पणी पनि समाचारमा गरिएको छ ।

नेपालीहरूको शोषण गरी सुनारले उनीहरूको दुःखबाट लाभ उठाएको भन्दै समाचारमा कुवेतबाट युरोपतिर भाग्ने प्रयास गर्दा मृत्यु भएका धेरै नेपाली प्रवासीहरूको मृत्युमा उनको भूमिका थियो कि थिएन भन्ने प्रश्नको गम्भीर छानबिन आवश्यक रहेको जिकिर गरिएको छ ।

नेपाल प्रहरीले आग्रह गरेपछि कुवेती जासुसहरूले उनलाई कुवेतको भीडभाडयुक्त मानिने जलीबमा पत्ता लगाएका थिए । तर उनलाई कुवेतको कानुनअनुसार छानबिन नगरी नेपाल पठाइएको थियो । सुनारले २०७२ साल असार २७ गते एक युवतीलाई विवाह गर्छु भनेर विभिन्न किसिमको प्रलोभनमा पारी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा लगेर बेचबिखन गरेको उजुरी परेको थियो । 

यसअघि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका  धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउतलाई पनि एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरेर नेपाल फिर्ता ल्याइएको थियो । नेपालमा विभिन्न अपराधमा संलग्न भएका व्यक्ति कुवेतमा पक्राउ पर्ने क्रम बढेको छ । नेपालीहरू कुवेती कानुन उल्लंघनको आरोपमा पक्राउ पर्ने गरेका छन् ।